Rumpum Advertisement

सभापतिका कारण काङ्ग्रेसीलाई अप्ठ्यारो पर्‍यो आन्दोलन

सभापतिका कारण काङ्ग्रेसीलाई अप्ठ्यारो पर्‍यो आन्दोलन

विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विरोधमा नेपाली काङ्ग्रेसका कार्यकर्ता सडक सङ्घर्षमा खुलेर जान अप्ठ्यारोमा परेका छन् ।

संसद् विघटनलगत्तै सार्वजनिक भएको आयोगहरुको नियुक्तिले काङ्ग्रेस कार्यकर्ता खुसी हुने कि आन्दोलनमा जाने दुविधामा परेका हुन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भित्रभित्रै संवैधानिक आयोगमा नियुक्तिका लागि सहमति दिने अनि बाहिर आएर बुरुक्क उफ्रने द्वैध चरित्रको कारण आफूहरु असम्जसमा परेको नेपाली काङ्ग्रेसका कार्यकताहरु बताउने गरेका छन् । सभापतिको यस्तो व्यवहारका कारण खुलेर प्रतिवाद गर्न असहज भएको उनीहरु बताउँछन् ।

संविधानमा हुँदै नभएको व्यवस्थालाई जवरजस्ती गरेर जनताको अमूल्य मतको प्रधानमन्त्रीले खिल्ली उडाउँदा पनि नेपाली काङ्ग्रेसजन पनि अफ्ठेरोमा परेका छन् । प्रजातन्त्र र जनमतको सधैँ कदर गर्दै आएको नेपाली काङ्ग्रेस पनि प्रधानमन्त्रीको कदमको विरोध गर्दा एकपटक सोच्नु पर्ने अवस्थामा पुगेको छ ।

नेपाली काङ्ग्रेसका कार्यकर्तालाई परेको अप्ठ्यारो प्रदेश १ का सांसद तथा काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले पनि फेसबुकको स्टाटसमा व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा ‘संवैधानिक आयोगहरुमा नियुक्ति हेरिसकेपछि हुर्रे गर्ने कि मुर्दाबाट गर्ने भन्ने विचलन पो आयो त हौ, अब कसकोविरुद्ध गर्ने आन्दोलन ?’ लेखेका छन् ।

संवैधानिक आयोगहरुमा भएको नियुक्तिले नैतिकरुपमा पनि नेपाली काङ्ग्रेसका कार्यकर्तालाई सडक सङ्घर्ष चर्काउन अफ्ठेरो पर्ने देखिन्छ । यस विषयमा प्रतिक्रिया दिन नचाहेका सचेतक कार्कीले आफ्नो मनमा लागेको कुरा मात्र लेखेको बताए ।