Rumpum Advertisement

जाडोमा दमले सताउन सक्छ, सतर्क रहन आवश्यक

Neuro
जाडोमा दमले सताउन सक्छ, सतर्क रहन आवश्यक

विराटनगर/दम वृद्धवृद्धामा मात्रै नभएर सबै उमेर समूहको व्यक्तिमा हुने हुन्छ ।

दम रोग लाग्नुमा धुम्रपान र वायु प्रदूषण मुख्य कारण भए पनि पछिल्लो समय विभिन्न कारणले दमको रोगी बढ्न थालेका छन् । समयमै दम रोगको पहिचान गरी उपचार नगरेको खण्डमा यो रोगले शरीरका महत्तवपूर्ण अङ्गलाई हानी गरी धातक हुनसक्ने देखिन्छ ।

विराटनगरस्थित गोल्डेन अस्पतालमा कार्यरत फिजिसियन डा. सञ्जीव यादव अन्य समयको तुलनामा जाडोमा दमको रोगी बढ्ने वा चिसोका कारण दमको समस्या भएका मानिसलाई गाह्रो हुने बताउँछन् । हप्तामा १५ देखि २० जाना बिरामी दमको समस्याका कारण अस्पताल आउने गरेको उनको भनाइ छ ।

दम (अस्थमा) श्वासप्रश्वाससम्बन्धी देखिने समस्यामध्ये एक हो । दमको समस्या भएको व्यक्तिको श्वासनली वा वरिपरिको मार्ग साँघुरो भई सुन्निने हुन्छ । फोक्सोमा हावा जान कठिनाइ हुने कारण यसले सास फेर्न गाह्रो बनाउँछ । दमको समस्या सामान्यदेखि घातकसम्म हुनसक्छ ।

दमको समस्या भएका मानिसलाई सास फेर्न गाह्रो हुने, खोकी (विशेषगरी बिहान र रातको समयमा), स्वाँस्वाँ हुने, घ्यारघ्यार हुने, सास फेर्दा सिठी बजेकोजस्तो आवाज आउने, छातीमा दवाब परेकोजस्तो मसहुस हुने, दुख्ने, श्वासप्रश्वासमा समस्या भएका कारण सुत्न गाह्रो हुने जस्ता लक्षण देखापर्ने हुन्छ ।

दम धेरैजसो तीन प्रकारको कारणले हुने गर्छ । अधिकांश मानिसलाई एलर्जीको कारण दमको समस्या हुने सम्भावना रहन्छ । वातावरणमा हुने, एलर्जन्स, धुलो, धुँवा, जनावरको छाला वा रौँ तथा परागकणसँग बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ ।

बालबालिका तथा युवामा देखिने दमको समस्या मुख्य यही कारणले हुने गरेको पाइन्छ । दोस्रोमा पटक–पटक श्वासनली, पिनास वा टन्सिलको समस्या भएमा, नाक वा घाँटीमा मासु पलाएको समस्याका कारण, ब्याक्टेरिया वा भाइरसका सङ्क्रमणको कारणले पनि दमको समस्या देखा पर्न सक्छ । दम हुने तेस्रो कारणमा भने पहिलो र दोस्रो कारण मिलेर पनि हुनेगर्छ ।

दम हुने कारण वा भएकामा अधिक समस्या गर्ने कारण

दम भएका मानिसको श्वासनलीले वातावरणमा हुने वरिपरिको कणसँग प्रतिक्रिया गर्छ । यसलाई अस्थमा ट्रिगर पनि भनिन्छ जसकारण लक्षण देखापर्ने वा पहिलाबाटै भएको समस्यालाई गम्भीर गराउने गर्छ ।

पिनास, रुघाखोकी, वा फ्लूको सङ्क्रमण, धुलो, धुँवा, ढुसी, जनावरको छाला वा रौँ तथा परागकण, सेन्ट वा सरसफाइका रसायनको गन्ध, वातावरण प्रदूषण, सुर्तीजन्य पदार्थ, धुम्रपान, अत्यधिक व्यायाम, चिसो हावा वा मौसम परिवर्तन, पाचनमा समस्या, अत्यधिक चिन्ता, तनाव, दुःख वा हाँसो, औषधि, प्याकेट तथा बोटलमा राखिएको खानालाई लामो समयसम्म ताजा राख्ने पदार्थका कारण दम भएको मानिसलाई थप समस्या सिर्जना गराउन सक्छ ।

दमको समस्या गराउन सक्ने जोखिम कारक

दम वंशाणुगत कारणले पनि हुनसक्ने मानिएको छ । अर्थात्, परिवारका एक सदस्य (विशेषगरी आमा)लाई दमको समस्या भएमा बच्चामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । लिङ्गको आधारमा पनि दम हुनसक्छ । बालअवस्थामा केटालाई दम हुने सम्भावना बढी हुन्छ भने किशोर र युवा अवस्थामा महिलामा दमको समस्या बढी देखिन्छ ।

मौसममा हुने परिवर्तन, अत्यधिक शारीरिक गतिविधि वा व्यायाम, फोक्सोको सङ्क्रमण, एलर्जी तथा मोटोपनाको समस्याका कारण पनि दमको जोखिम रहन्छ । दम जुनसुकै उमेरमा सुरु हुनसक्छ तर, ४० वर्षभन्दा कम उमेरका मानिसमा यो बढी देखिने हुन्छ ।

पेशागत कारण पनि मानिसलाई दम हुने सम्भावना रहन्छ । अत्यधिक रसायन, धुँवाधुलो भएको ठाउँ तथा कोइला खानीमा काम गर्ने मजदुरलाई पनि दमको समस्या देखिन सक्छ । लामो समयसम्म यस्तो ठाँउमा बस्ने व्यक्तिहरूमा अक्सिजनको कमी हुने भएकाले खोकी, दम, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्न थाल्छ । शरीरमा सेतो रक्त कोशिकाको मात्रा बढी हुन जाँदा पनि दम हुने सम्भावना रहन्छ । यसले धेरैजसो ३५ देखि ५० वर्षबीचको उमेरमा बढी असर गर्न सक्ने देखिएको छ ।

जाडोमा दमको समस्याले सताउँछ

जाडोमा दमको समस्या गर्मीको तुलनामा बढी हुन्छ । चिसो, सुख्खा हावाले वायुमार्गमा जलन पैदा गर्ने हुँदा जाडोमा यो समस्याले सताउने गरेको हुन्छ । चिसो हावाले खकारको उत्पादन बढाउँछ जुन सामान्यभन्दा मोटो हुन्छ जसले वायुमार्गलाई साधुँरो बनाई सास फेर्न गाह्रो बनाउँदै लान्छ ।

चिसो हावाले वायुमार्गलाई हिस्टामाइन उत्पादन गर्न लगाउँछ । हिस्टामाइन एक रसायन हो जसलाई शरीरले एलर्जी भएको बेलामा उत्पन्न गर्ने हुन्छ । हिस्टामाइनले दमका लक्षणलाई थप बिगारेर गम्भीर असर पु¥याउने गर्छ ।

बालबालिकामा हुने दम

एउटै बच्चामा पनि विभिन्न लक्षण देखापर्न सक्ने हुँदा अभिभावकले बढी ध्यान दिन आवश्यक हुन्छ । पटक–पटक खोकी लाग्ने समस्या (विशेषगरी खेल्दा, रातीको समयमा वा हाँस्दा अत्यधिक खोकी लागेमा) बालबालिकामा देखापर्ने दमको एकमात्र वा दमको मुख्य लक्षण हुनसक्छ ।

कमजोरी, थकान, उर्जामा कमी वा खेल्दा सास फेर्न समस्या भएमा, छिटोछिटो वा लामोलामो सास फेरेमा, छातीमा दवाव परेको जस्तो वा दुखाइ महसुस भएको गुनासो गरेमा, सास फेर्दा आवाज आएमा, सास फेर्न समस्या देखिएमा, घाँटीको माशंपेशी टाइट भएमा दमको समस्या हुनसक्ने भएको हुँदा यस्ता लक्षण देखापरे बेवास्ता गर्नु हुँदैन ।

उपचार तथा रोकथामका उपाय

नियमित औषधिको सेवन तथा निरन्तर जाँच गरी दमको उपचार गर्न सकिन्छ । दम एक दीर्घकालीन रोग हो जसले दीर्घ रूपमा फोक्सोलाई क्षति पुर्‍याउँछ । यसको उपचार गर्नु लामो समय औषधि लिनुपर्ने वा इनहेलरको प्रयोग गर्नुपर्ने हुनसक्ने हुँदा यसलाई लागेर उपचार गराउनुभन्दा पनि लाग्नै नदिन रोकथाममा उपायहरू अपनाउनु पर्छ । सुरुमा आफूले काम गर्ने ठाउँका कारण, वातावरण वा कुनै एलर्जीका कारण दमको जोखिम हुनसक्छ भन्ने कुरा थाहा पाउनुपर्छ । र, सक्दो यस्ता ठाउँ वा कारकबाट टाढै रहनुपर्छ ।

त्यस्तै, एलर्जी गराउन सक्ने, वा अस्थमालाई बढावा दिने खानेकुरा, औषधि, वा अन्य कुराहरूलाई बाल्यकालदेखि नै पहिचान गर्दै लगेमा दम हुने सम्भावनालाई कम गराउन सकिन्छ । दम भएका मानिसले समस्यालाई नियन्त्रण गर्नका लागि मास्क लगाउन आवश्यक हुन्छ ।

मास्क लगाउनाले दमको रोगीलाई सास फेर्न कुनै समस्या हुँदैन । मास्कको प्रयोगले धुलो, धुँवा हाम्रो नाक तथा मुखबाट सिधै छिर्न पाउँदैन । त्यसैगरी हावामा भएका फोहोर पनि फिल्टर हुन्छ । मास्क नभएमा बाहिर हिँड्दा स्कार्फ वा रुमालले मुख छोप्नुपर्छ । सास फेर्दा मुख बन्द गरी जहिले पनि नाकले सास फेर्नु पर्छ ।

रूघा लागेको, टिबी तथा अन्य व्याक्टेरियल र भाइरल सङ्क्रमण सर्न सक्ने हुँदा यस्ता बिरामीसँग टाढा बस्नुपर्छ । एलर्जीबाट बचेर, सुर्तीजन्य पदार्थको सेवन तथा धुम्रपान नगरेर, प्रदूषण तथा चिसो वातावरणबाट बचेर दमको समस्यालाई कम गर्न सकिन्छ । जाडोमा चिसोबाट बच्न र खकारको उत्पादन रोक्नलाई चिसो खानेकुराबाट टाढा रहेर न्यानो भई तातो खाना र पेयपदार्थमा जोड दिनुपर्छ । दमका लक्षण देखा परे बेवास्ता नगरी डाक्टरसँग परामर्श लिन अति आवश्यक हुन्छ ।