Rumpum Advertisement

शीर्ष स्थानको एथ्लेटिकोसँग रियल मड्रिडको अङ्क बराबरी

शीर्ष स्थानको एथ्लेटिकोसँग रियल मड्रिडको अङ्क बराबरी

विराटनगर । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा रियलले इएबारलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

म्युनिसिपल डी इपुरुवामा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, लुका मोड्रिक र लुकास भास्क्वेजले एक–एक गोल गरे । घरेलु टोलीका किकेले एक गोल गरे ।

खेलको छैटौं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । १३औं मिनेटमा मोड्रिकले गोल गरेपछि रियलले आफ्नो अग्रता दोब्बर बनायो ।

२८औं मिनेटमा किकेले गोल गरेपछि पहिलो २–१ गोलको अवस्थामा सकियो । खेलको इन्ज्युरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई ३–१ गोलले जिताए ।

जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । यस्तै उसले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अङ्क बराबरी गरेको छ । उसले १४ खेलबाट २९ अङ्क जोडेको छ । एथ्लेटिको समान अङ्क भएपनि गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

पराजित इएबार भने १५ अङ्कसहित १४औं स्थानमा छ ।