विराटनगर । इटालियन सिरी ‘ए’मा एसी मिलानले जित दर्ता गरेको छ । आइतबार राति मिलानले सासुओलोमाथि २–१ गोलको जित निकालेको हो ।
सासुओलोको मैदानमा मिलानले सुरुआती अग्रता बनाएको थियो । मिलानका युवा फरवार्ड राफेल लियोले खेल सुरु भएलगत्तै गोल गरेका थिए ।
हाकान काल्हानोग्लुको पासमा ६.७ सेकेन्डमा नै गोल गरेका थिए । यस गोलसँगै उनी युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।
युरोपियन शीर्ष पाँच लिगमा ७.३ सेकेन्डमा गोल गर्ने भाल्लाडोलिडका खेलाडी जोसेब्रा लोरेन्टे हुन् । उनलाई उछिन्दै लियोले यस कीर्तिमान बनाएका हुन् ।
खेलको २६औं मिनेटमा एलेक्सिस साइलेमेकर्सले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

८९औं मिनेटमा सासुलोका डोमेनिको बेरार्डीले एक गोल फर्काए ।
जितसँगै शीर्ष स्थानको मिलानले १३ खेलबाट ३१ अङ्क जोडेको छ । सासुलो भने २३ अङ्कका साथ पाँचौं स्थानमा छ ।