Rumpum Advertisement

बादल र भट्टको ‘कित्ता क्लियर’, बामदेव कता ?

बादल र भट्टको ‘कित्ता क्लियर’, बामदेव कता ?

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्कँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिँदै आएका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र स्थायी समिति सदस्य लेखराज भट्टले कित्ता क्लियर गरेका छन् ।

पूर्वमाओवादी कोटाबाट ओली नेतृत्वको सरकारमा मन्त्री बनेका बादल र भट्टले आइतबार आफ्नो कित्ता क्लियर गरेका हुन् । उनीहरू ओली पक्षमा उभिएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सरकारबाट राजीनामा दिँदा भट्ट र बादलले ओलीको पक्षमा कित्ता क्लियर गरेका हुन् ।

अर्का सचिवालय सदस्य बामदेव गौतमको कित्ता क्लियर भएको छैन् । ढुलमुले प्रवृतिको आरोप लाग्दै आएका गौतमले आइतबार दुईवटा वक्तब्य जारी गरेका थिए । गौतम दुवै पक्षमा जाने सम्भावना छ ।

आइतबार बिहान प्रधानमन्त्रीले संसद् विघटन गर्दा आफ्नो समर्थन र विरोध नभएको बताएका गौतमले वक्तब्य जारी गर्दै ओलीको कदम असंवैधानिक भएको बताएका थिए ।

ओलीको निर्णयको विरोध गरेपनि उनी आइतबार आयोजना गरिएको नेकपा स्थायी कमिटीको बैठकमा सहभागी भएनन् ।

नेपाल पक्षका एक नेताका अनुसार गौतम ओलीको विपक्षमा छन् । आइतबार प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णयमा गौतमको समर्थन रहेको नेपाल पक्षका नेताको दाबी छ ।

तर आफ्नो कार्यकालपछि प्रधानमन्त्रीको अफर गरेका कारण गौतम ओली पक्षमा लाग्न सक्ने नेताहरू बताउँछन् ।