Rumpum Advertisement

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

Neuro
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चारवटै सुरक्षा अङ्गका प्रमुखहरूलाई आगामी निर्वाचन सफलतपूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका हुन् ।

छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।

ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ पनि लिएका थिए ।
यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

Image may contain: one or more people, people sitting, living room, table and indoor

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे । रासस