Rumpum Advertisement

विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Neuro
विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

विराटनगर / असंवैधानिक तबरले संसद् विघटन गरेको भन्दै जनता समाजवादी पार्टीनिकट विराटनगरका विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य कमल पोखरेलको नेतृत्त्वमा भएको कार्यक्रममा विराटनगरको संसारीमाईस्थानबाट विरोध र्‍याली निकालिएको थियो ।

सहर परिक्रमापछि महेन्द्र चोक पुगी कोणसभामा परिणत भएको विरोध र्‍यालीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको थियो ।

कोणसभामा बोल्दै नेता पोखरेलले ओलीले संसद् विघटन गरेर संविधानको बलात्कार गरेको बताएका छन् । ‘सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र पक्षधर युवा विद्यार्थीहरूले यसका विरुद्धमा सडक सङ्घर्षबाट ओलीतन्त्रलाई पाखा लगाउनुपर्छ,’ कोणसभामा बोल्दै पोखरेलले भने, ‘प्रधानमन्त्रीले संविधानको बलात्कार गरेका छन्, लोकतन्त्रमाथि हमला गरेका छन्, यसैको विरोधस्वरुप आज पुत्ला दहन गरिएको हो ।’

ओलीले असंवैधानिक कदम नसच्याए आगामी दिनमा थप सङ्घर्षका कार्यक्रमहरू ल्याउने तयारी भइरहेको विद्यार्थी सङ्गठनले जानकारी दिएको छ । विरोध एवम् पुत्ला दहन कार्यक्रममा विद्यार्थी नेता तरुण खवास, राष्ट्रिय विद्यार्थी सङ्घका जिल्ला संयोजक बिपुल झा, विद्यार्थी नेता पेशल झा, युवा नेता रन्जित गोस्वामी, साहिल खानलगायतको उपस्थिति रहेको थियो ।