Rumpum Advertisement

सकारात्मक परिवर्तनका निम्ति निरन्तर खबरदारी हाम्रो अभीष्ट

जनताका पक्षमा खरो उत्रने विश्वास

सकारात्मक परिवर्तनका निम्ति निरन्तर खबरदारी हाम्रो अभीष्टजनताका पक्षमा खरो उत्रने विश्वास

आफ्नो सेरोफेरोमा रहेका समाचार र विचारलाई गुणस्तरीय सामग्रीका रूपमा प्रस्तुत गर्दै व्यावसायिक पत्रकारिताको मूलधारमा मानक निर्माण गर्ने उद्देश्यले रिपब्लिक हेराल्ड मिडिया प्रालिले २०७६ पुस ५ गतेदेखि सुरु गरेको कोसी अनलाइन डटकम न्युज पोर्टल आजदेखि सफलताका साथ दोस्रो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा देश–दुनियाँका सूचना जतिसक्दो छिटो भुइँतहको पहुँचमा पुर्‍याउने हाम्रो प्रयास र प्रस्तुति जनताबाट रुचाएको प्रतिक्रियाले हाम्रो आगामी यात्रालाई निर्दिष्ट गरेको छ ।

यो अवसरमा हामी देश–विदेशमा रहनुहुने पाठक–दर्शक, विज्ञापनदाता, सम्बद्ध कर्मचारी, लेखक, पत्रकारलगायत सबै शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । प्रारम्भिक दिनदेखि नै हामीले सन्तुलित, खोजमूलक, विश्वसनीय समाचार, विचार तथा जीवनशैलीका विविध गतिविधिसँगै विभिन्न विषयमा भिडियो रिर्पाेटहरू प्रस्तुत गरिरहेका छौँ । कोसी अनलाइनलाई निरन्तर प्राप्त भइरहेको साथ–सहयोग, माया तथा शुभेच्छाका निम्ति मनैदेखि आभारी छौँ ।
मुलुकमा सकारात्मक परिवर्तनका निम्ति चलेका सबैखाले अभियानलाई उद्देश्यमा पुर्‍याउन हामीले ‘सञ्चारको मूल प्रवाहमा फरक आयाम’ नाराका साथ निर्वाह गरेको भूमिका सर्वविदितै छ ।

प्रतिस्पर्धा र व्यावसायिकताका नाममा हतारिएर, हौसिएर होइन, जिम्मेवार भएर पत्रकारिता गर्नु हाम्रो कार्यनीति रहेको यहाँ स्मरणीय छ ।

यो अवसरमा लोकतन्त्र, परिवर्तनका उपलब्धि तथा जनताको सार्वभौमसत्ता सम्पन्नतालाई संस्थागत गर्दै अग्रगमनका निम्ति जनविश्वास अझ बलियो बनाउने हाम्रो दायित्वमा कुनै कमी आउन नदिने बरू थप अग्रगामी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । आजैदेखि हामीले कोसी अनलाइनको अङ्ग्रेजी संस्करणसमेत प्रारम्भ गरेका छौँ । हाम्रो अङ्ग्रेजी संस्करणले विश्वव्यापी फैलावट पाउनेछ र हामीले जोड्न छुटिरहेको बाँकी पाटोसमेत मूलधारमा जोडिनेछ भन्नेमा विश्वस्त छौँ ।

कोसी अनलाइनलाई अझ बढी जवाफदेही र अन्तरक्रियात्मक बनाउँदै विशेष सवालहरूमा अभियान सञ्चालन गर्ने, अप्ठेरो समयमा निरन्तर खबरदारी गर्ने हाम्रो अभीष्ट यथावत् छ । यथार्थमा आवाजविहीनहरूको आवाज बन्ने हाम्रो अभियान निरन्तर छ । समाजमा विद्यमान सबैखाले विकृति–विसङ्गतिलाई निरुत्साहित गर्न हाम्रो सघाइ जारी रहनेछ । पछिल्लो समयमा प्रविधिको तीव्र विकास तथा सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै मल्टिमिडिया जर्नालिज्मको अभ्यासको अपेक्षा पनि बढेको छ, जसलाई हामीले पनि आत्मसात गरेका छौँ । तर प्रतिस्पर्धा र व्यावसायिकताका नाममा हतारिएर, हौसिएर होइन, जिम्मेवार भएर पत्रकारिता गर्नु हाम्रो कार्यनीति रहेको यहाँ स्मरणीय छ । हामीसँग सामाजिक सञ्जालमार्फत २२ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष जोडिनुभएको छ । उहाँहरूलगायत सबैप्रति हाम्रो जिम्मेबारी र जबाफदेहीता उत्तिकै छ ।

मुलुकमा यतिबेला राजनीतिक नेतृत्वको अनपेक्षित व्यवहारका कारण अप्ठेरो परिस्थिति उत्पन्न भएको छ । ‘सुशासन र समृद्धिका लागि स्थिर सरकार’ नारा दिएर पाँच वर्षका लागि उल्लेख्य बहुमत पाएको सरकार पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्न नसकेर मध्यावधिमै धरासयी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुने घोषणा भएको छ । अर्कोतर्फ सबै प्रतिपक्षीसहित सत्ता पक्षकै करिब आधा मतले राष्ट्रपतिको घोषणा मान्य नहुने प्रतिक्रिया दिएका छन् । मुलुकमा राजनीति प्रतिगमन भएको अनुभूति र प्रतिक्रिया सडकमा देखिन थालेको छ । यो अनपेक्षित परिदृश्यले प्राप्त जनपक्षीय उपलब्धिहरू उल्टाउने चाहनामा बल पुगेको छ ।

यस्तो पृष्ठभूमिमा हामीले जनआन्दोलन २०६२–६३ सहित परिवर्तनका लागि भएका सबै आन्दोलनको उपलब्धि रक्षाका निम्ति जनताको कित्तामा रहेर निर्वाह गर्नुपर्ने हाम्रो भूमिका र दायित्व अझ थपिएको अनुभूत गरेका छौँ । यो अग्निपरीक्षामा हामी खरो उत्रने विश्वास दिलाउन चाहन्छौँ ।

प्रभात खड्का
अध्यक्ष, रिपब्लिक हेराल्ड मिडिया प्रालि