Rumpum Advertisement

कोसी अनलाइन डटकम दोस्रो वर्षमा, अङ्ग्रेजी संस्करणकाे सुरुवात

कोसी अनलाइन डटकम दोस्रो वर्षमा, अङ्ग्रेजी संस्करणकाे सुरुवात

विराटनगर / ‘सञ्चारको मूल प्रवाहमा फरक आयाम’को मानक कायम गर्ने उद्देश्यसहित रिपब्लिक हेराल्ड मिडिया प्रालिले सञ्चालन गरेकाे कोसी अनलाइन डटकम दाेस्राे वर्षमा प्रवेश गरेकाे छ । २०७६ पुस ५ गतेदेखि प्रकाशन/प्रशारण सुरु भएको कोसी अनलाइन आइतबारबाट दाेस्राे वर्षमा प्रवेश गरेकाे हो ।

कोरोना महामारीको जगजगी र संसद् विघटन भएको अप्ठेरो दिन विराटनगरको सञ्चार क्षेत्रसम्बद्ध प्रतिनिधि उपस्थितिबीच कार्यालय परिसरमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

दाेस्राे वार्षिक उत्सवमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलले कोसी अनलाइनले समाज तथा पत्रकारिता वृत्तमा छोटो समयमा राम्रो प्रभाव छोड्न सकेको बताए ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारको हकहितलाई समेत अङ्गीकार गरेर अनलाइन व्यवस्थित रूपमा सञ्चालन भएको बताए । उनले सङ्घीय राजधानीबाहिर लामो समयसम्म मूलधारमा रहेका कतिपय सञ्चारगृहसमेत व्यवस्थित हुन नसकेको बेला कोसी अनलाइनले आफूलाई व्यवस्थित पार्दै उदाहरण प्रस्तुत गरेको बताए ।

परम्परागत मूलधारकाे पत्रकारिता गर्ने पनि अहिलेको प्रविधि अपनाउन बाध्य भएको उल्लेख गर्दै नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले समयको मागअनुसारका सामग्री कोसी अनलाइनले प्रस्तुत गरिरहेको धारणा राखे ।

पत्रकार गणेश लम्सालले मानवअधिकार र प्रजातन्त्रको पक्षमा निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने र त्यसमा कोसी अनलाइन प्रारम्भदेखि नै पहिचान बनाउँदै अघि बढिरहेको बताए ।

कोसी अनलाइनका सम्पादक सुविद गुरागाईले अझै फरक तरिकाले अगाडि बढ्ने धारणा राखे । उनले समाजमा सकारात्मक परिवर्तनका लागि भएका हरेक प्रयासहरूलाई सघाइरहेको कोसी अनलाइनले पत्रकारिताको मूलधारले छोडेका विषयवस्तुलाई खोजी–खोजी समेट्ने कार्यतालिका बनाएको जानकारी गराएका थिए ।

रिपब्लिक हेराल्ड मिडिया प्रालिका अध्यक्ष प्रभात खड्काले अहिलेको विषम परिस्थितिमा पनि मिडिया हाउसलाई अगाडि बढाइरहेको बताए । उनले व्यावसायिक पत्रकारिताको मर्मअनुरूप समाज तथा श्रमजीवी सहकर्मीहरूको हितमा रहेर काम गर्ने बताए ।

अङ्ग्रेजी संस्करणकाे शुभारम्भ

काेसी अनलाइनकाे दोस्रो वर्ष प्रवेशको अवसर पारेर रिपब्लिक हेराल्ड मिडिया प्रालिले आइतबारदेखि अङ्ग्रेजी संस्करण सुरु गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पाेखरेल, पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष विक्रम लुइटेल, माेरङ शाखा अध्यक्ष बन्धु पाेखरेल र रिपब्लिक हेराल्ड मिडिया प्रालिका अध्यक्ष प्रभात खड्काले संयुक्त रूपमा क्लिक गरेर अङ्ग्रेजी संस्करण शुभारम्भ गरे । अङ्ग्रेजी संस्करणका सम्पादक गिरिजाकुमार भट्टराई रहेका छन् ।

https://english.koshionline.com मा काेसी अनलाइनको अङ्ग्रेजी संस्करण हेर्न सकिन्छ ।