Rumpum Advertisement

जन्मजात हर्पेटोलोजिस्ट – माइली भाउजू !

जन्मजात हर्पेटोलोजिस्ट – माइली भाउजू !


डा. केआर खम्बु

एक–हप्ते गाउँ बसाइपछि दिदीलाई घर पुर्‍याउन र मावली गाउँ होमतोक (कटुन्जे) जाने कार्यक्रम बन्यो ।

भतिजो विश्वराज र नाति छयाङ्गे उभयचर र सरीसृप खोज्न पास भइसकेका छन् । उनीहरू बाटोमा भेटे जति र देखे जति सङ्कलन गर्दै हिँड्छन् । म पनि पुरै तयारीका साथ तिनीहरूसँगै गएँ । केदार दाइ पनि सघाउनुहुन्छ । हामीले आम्लाबुङ र दाङलेक्ताङको जलाधार क्षेत्रमा खोज्यौंँ । त्यहाँ पा–इर्सेपिया पाइन्छ ।

त्यहाँबाट भीरगाउँमुनिको तारेभीर (परेबेभीर)को बाटो भएर खाप्तिङ हुँदै बेगुवा खोला पुग्यौँ । यी सबै जलाधार क्षेत्र हुन् । यसको शिर भन्ज्याङखर्क र धिन्ताङको लेक पर्छ ।

त्यसपछि हकेखा हुँदै महभीरको तीनछाँगे झरना पुग्यौँ । ती झरनाहरू निकै आकर्षक र प्राकृतिक दृश्यले सुन्दर छन् । सिरानमा एउटा झरना छ । त्यो देखिन्छ मात्र, पुग्न सकिन्न । त्यसमुनि अर्काे छाँगो छ, त्यहाँ पुग्नै गाह्रो छ ।

जन्तेढुङ्गा गाउँपालिका, बेगुवाछेउ पित्लामको चारछाँगे झरना ।

हामी पुगेको छाँगो भने ३० र ४० मिटर उचाइबाट झरेर एउटा ठुलो दहमा बजारिन्छ । माथिको मुस्लो पानी तल दहमा आउँदा पानी परेजस्तो थोपा भई झर्छ । त्यहाँ भित्तातिर हेर्‍यौँ । त्यहाँ पनि दाङ्लेक्ताङमा पाइने मुस्ले (इर्सेपी) पाहा पाइयो । यो झरना यस क्षेत्रको पर्यटकीय आकर्षण हुने कुरा नोट गरेँ । त्यहाँबाट पित्लाम झर्‍यौँ – केदार दाइको ससुराली गाउँ । त्यहाँबाट लिकुवा खोलापारि हुलाकीमा माइली भाउजूको माइतीमा बास बस्यौँ ।

लिकुवा पोखरी गाविसको हुलाकी गाउँ मेरी माइली भाउजूको जन्मस्थान । उहाँका भदै–भदैनी र नाति–नातिनीहरू छन् अहिले त्यहाँ । यस घरमा म सानो छँदा भाउजू पुर्‍याउन र लिन धेरै पल्ट आएको थिएँ । बेलुकीको खानापछि राँको लिएर भाउजू र उहाँका केही भदैहरूसँग लिकुवा खोलातर्फ पाहा खोज्न गयौँ । भाउजूले उहाँ सानो हुँदा पाहा पक्रने गरेको ठाउँ लग्नुभयो ।

खोङटाङ गाउँपालिका लिकुवा खोला क्षेत्रमा पाइने तिब्बती हरेउ ।

एक तमासले बगिरहेको पहाडी खोलाको तल–माथि चाहार्‍यौँ । १०–१५ वटा विभिन्न खाले पाहाहरू भेटिए । वास्तवमा भाउजूमात्र होइन, पहाडमा बस्ने जुनसुकै राईहरूमा पाहाबारे पूर्ण जानकारी हुने गर्छ । यहाँ राईहरूले आफ्ना पितृकार्य, परम्परागत औषधि र खानाको रूपमा पाहाको प्रयोग गर्ने गरेका छन् । त्यहाँ सङ्कलित नमुनाहरूमा भाउजूले सजिलैसँग ‘काङमाक, बक्सालिमा, केवापा, लक्सा भनी चार प्रजातिमा छुट्याइदिनुभयो ।

त्यहाँ पाहा खान आउने थुप्रै सर्पहरू पनि भेटिए । एक जोडी घाँसजस्तो हरियो सर्प पक्रें । यी सर्पहरू गुर्भे समूहका हरेउ हुन् । यो तिब्बती समूहको गुर्भे हो भन्ने कुरा पछि थाहा पाएँ । त्यस सर्पबारे भाउजूले भन्नुभएको, ‘यसले फूल हैन, बच्चा पाउँछ रे ! बच्चा जन्माउने बेलामा यो भुइँमा झरेर एक–एक वटा गरी चारदेखि ६ वटासम्म बच्चा जन्माउँछ रे !

स्थानीय व्यक्तिहरू नै अनुसन्धानका मुख्य विश्वासिला आधार हुँदारहेछन् ।

म छक्क परेँ । सर्पले फूल पार्छ भन्ने अवधारणामात्र ममा छ । विश्वास नलागी–नलागी टिपोट गरेँ । पछि जब मैले मेरो गाइड डाक्टर हर्मनलाई सोधेँ, ‘उहाँले पनि ‘केही भाइपर समूहका सर्पहरू बच्चा जन्माउँछन्,’ भन्दा छक्क परेँ ।

मलाई गर्व लाग्छ, मेरी माइली भाउजू त जन्मजात सरीसृपविज्ञ (हर्पेटोलोजिस्ट) हुनुहुँदोरहेछ भनेर । हामी लिकुवा खोलाबाट आधा रातमा फक्र्यौँ । त्यस रातको सङ्कलन साँच्ची नै मेरो अनुसन्धान कार्यका लागि कोसेढुङ्गा भयो । स्थानीय व्यक्तिहरू नै अनुसन्धानका मुख्य विश्वासिला आधार हुँदारहेछन् भन्ने कुरा पनि प्रमाणित भयो ।

क्रमश:

अध्ययन–अनुसन्धानका सिलसिलामा पूर्वाञ्चलका प्रायः सबै सिमसार, जरुवा तथा जलाधार क्षेत्र चहारेका डाक्टर कालुराम राई अर्थात् केआर खम्बु उभयचर र सरिसृप प्राणी विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् ।

मेची क्याम्पसको प्राध्यापन पेसाबाट गत वर्ष सेवानिवृत्त खम्बु तीन दशकदेखि वैज्ञानिक अनुसन्धानमा क्रियाशील छन् । जलबिन्दु रोगका कारण दृष्टिसम्बन्धी समस्या भए पनि डाक्टर खम्बुले जज स्क्रिन रिडर, ननभिजुअल डेस्कटप एक्सेस आदि प्रविधि प्रयोग गरी विषयगत अनुसन्धानको सिलसिलालाई निरन्तरता दिइरहेका छन् ।

म्युनिख विश्वविद्यालयका प्राध्यापक डाक्टर हर्मन स्लाइखसँग मिलेर भ्यागुता र कछुवाबारे अनुसन्धान गरेका उनी नेपालको हर्पेटोफाउना (उभयचर र सरिसृपसम्बन्धी अध्ययन–शास्त्र)का मुख्य स्रोतव्यक्ति हुन् । विषयगत अनुसन्धानको सिलसिलामा निजी अनुभवसमेत मिसाएर यिनले तयार पारेको ‘मेरो अनुसन्धान यात्रा’ नामक पुस्तक ‘खम्बुज वे : क्रसरोडस् इन न्यु ल्यान्ड’ शीर्षकमा अङ्ग्रेजीमा अनुदित छ ।

नेपालका उभयचर तथा सरिसृपको जीवन–शैली, तिनीहरूमाथि पर्ने वातावरणीय प्रभाव, प्राकृतिक स्रोतमा बढ्दो मानवीय अतिक्रमणलगायत फरक सन्दर्भमा रूचि राख्ने पाठकका लागि उपयोगी हुने विश्वाससाथ डाक्टर खम्बुको अनुभव यात्रा नेपाली तथा अङ्ग्रेजी दुवै संस्करणमा हरेक आइतबार प्रकाशित गर्नेछौँ ।

– सम्पादक