Rumpum Advertisement

उखु किसानको आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता

Neuro
उखु किसानको आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता

काठमाडौँ/उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यबद्धता जनाएको छ ।

नेमकिपाका सांसद् प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । सर्लाहीबाट काठमाडौँ आएका किसानहरु एक सातायाता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनलाई समर्थन गर्न पुगेका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाइदिने काम सरकारले गर्नुपर्ने बताए । वर्षौंदेखि देखिँदै आएको भुक्तानी नहुने समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताए ।

किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौताबमोजिम भुक्तानी दिलाइदिन माग गर्दै आन्दोलनमा बसेका हुन् । गत वर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौताअनुसार गत वर्षकै माघ ७ गतेभित्र भुक्तानी दिने उल्लेख छ । तर चिनी मिल सञ्चालकहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौँ आई आन्दोलनमा उत्रिएका हुन् ।