Rumpum Advertisement

मेस्सीले कीर्तिमान बराबरी गरेपछि पेलेको यस्तो सन्देश

मेस्सीले कीर्तिमान बराबरी गरेपछि पेलेको यस्तो सन्देश

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् ।

शनिबार राति ला लिगाअन्तर्गत भ्यालेन्सियाविरुद्ध एक गोल गरेका अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।

गए राति बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो । बार्सिलोनाले आफ्नो मैदानमा भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

क्याप नोउमा भ्यालेन्सियाले सुरुआती अग्रता बनाएको थियो । २९औं मिनेटमा मौक्टार डायखेबीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

यस गोलसँगै ३३ वर्षीय मेस्सीले पेलेको रेकर्ड बराबरी गरे । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाको जर्सीमा ७४८ खेल खेल्दै ६४३ गोल गरेका छन् ।

पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी लामो समययता बार्सिलोनाबाट खेलिरहेका छन् । बार्सिलोनाका सर्वाधिक गोलकर्तासमेत रहेका उनले चार पटक च्याम्पियन्स लिग र १० वटा ला लिगाको उपाधि जितेका छन् ।

यता, मेस्सीले आफ्नो कीर्तिमान बराबरी गरेपछि पेलेले उनका लागि सामाजिक सञ्जालमार्फत् सन्देश पठाएका छन् ।

‘जब तिम्रो हृदयमा माया भरिन्छ, त्यसपछि बाटो परिवर्तन गर्न गाह्रो हुन्छ । तिमीजस्तै, मलाई थाहा छ कि उस्तै नम्बरको जर्सी लगाएर तिमीले मलाई माया दिएका छौ । तिम्रो यो ऐतिहासिक कीर्तिमानका लागि बधाई छ मेस्सी’, पेलेले मेस्सीको तस्बिर राख्दै लेखेका छन् ।

‘बार्सिलोनाको सुन्दर बसाइका लागि पनि तिमीलाई बधाई छ । हाम्रो कथा लगभग उस्तै नै छ, एउटै क्लबको लामो बसाइ । म तिम्रो धेरै नै प्रशंसा गर्छु’, उनले लेखेका छन् ।