Rumpum Advertisement

कोरोना भाइरस फ्लूभन्दा तीन गुणा बढी घातक

Neuro
कोरोना भाइरस फ्लूभन्दा तीन गुणा बढी घातक

विराटनगर/कोरोना भाइरस मौसमी फ्लूभन्दा झण्डै तीन गुणा बढी घातक रहेको अध्ययने देखाएको छ ।

फ्रान्सेली राष्ट्रिय डेटा प्रयोग गरेर, द लान्सेट रेस्पिटरी मेडिसिन पत्रिकामा प्रकाशित उक्त अनुसन्धानले कोभिड १९ भएका मानिसहरूलाई बिरामीको बढ्दो गम्भीरतालाई अध्ययन गरेको थियो । अध्ययनका लागि कोभिडका कारण र मौसमी फ्लू (इन्फ्लूएन्जा)का कारण अस्पताल भर्ना भएका बिरामीको तुलना गरिएको थियो ।

अन्वेषकहरूले मार्च र अप्रिलमा कोभिडका कारण अस्पताल भर्ना भएका ८९ हजार पाँच सय ३० बिरामी र सन् २०१८ को डिसेम्बरको बीच र २०१९ को फेब्रअरीको अन्त्य मौसमी इन्फ्लूएन्जाका साथ अस्पतालमा भर्ना भएका ४५ हजार आठ १९ जना बिरामीसँग तुलना गरिएको थियो । अध्ययनका क्रममा कोभिडका कारण अस्पताल भर्ना भएका १६ दशमलव ९ प्रतिशतको मृत्यु भएको थियो ।

त्यस्तै, इन्फ्लूएन्जा भएकामध्ये ५ दशमलव ८ प्रतिशतको मृत्यु भएको थियो । कोभिड र इन्फ्लूएन्जा भएकाबाट मृत्यु हुनेको सङ्ख्यामात्र नभएर अस्पतालमा भर्ना हुने सङ्ख्यामा पनि फरक रहेको अनुसन्धानकर्ताको भनाइ छ । फ्लूको तुलनामा कोभिडको बिरामी दुई गुणा बढी अस्पताल भर्ना गर्नुपरेको हो ।

केही हदसम्म इन्फ्लूएन्जा प्रति पहिलादेखि नै भएको प्रतिरक्षा, अघिल्लो सङ्क्रमण वा खोपको कारण इन्फ्लूएन्जा कोभिडको तुलनामा कम घातक देखिएको अनुमान लगाइएको छ । कोभिड भएका बिरामीलाई इन्फ्लूएन्जाको बिरामीको तुलनामा बढी गहन हेरचाह (आईसियू) आवश्यक पर्ने पनि देखिएको छ ।

इन्फ्लूएन्जाका १० दशमलव ८ प्रतिशतको तुलनामा कोभिडको १६ दशमलव ३ प्रतिशत बिरामीलाई आईसियूमा भर्ना गरिएको थियो । साथै, आईसियूमा बस्ने अवधि पनि कोभिडका बिरामीलाई इन्फ्लूएन्जाको तुलनामा लगभग दुई गुणा लामो हुने अध्ययनले पत्ता लगाएको हो । कोभिडका बिरामीलाई १५ दिन आईसियूमा राख्दा इन्फ्लूएन्जाको बिरामीलाई ८ दिनमात्र आईसियूको आवश्यक पर्ने देखिएको थियो ।