Rumpum Advertisement

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ७० प्रतिशत धेरै सङ्क्रामक, अनुसन्धान गर्दै डब्ल्यूएचओ

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ७० प्रतिशत धेरै सङ्क्रामक, अनुसन्धान गर्दै डब्ल्यूएचओ

विराटनगर/बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरिएन्ट)को अध्ययन हुने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाए अनुसार नयाँ प्रकारको कोरोना भाइरस भेरिएन्टको विषयमा ब्रिटिस अधिकारीहरूसँग छलफल भइरहेको हो । बेलायतमा देखिएका अधिकांश सङ्क्रमितमा नयाँ प्रकारको भाइरस देखापरिरहेको ब्रिटिस सरकारको भनाइ छ । लन्डनका २८ प्रतिशतमा उक्त नयाँ प्रकारको भाइरस देखिएको थियो भने अहिले त्यो सङ्ख्या बढेर ६० प्रतिशत नाघेको छ ।

नयाँ प्रकारको कोरोना भाइरस पहिलेको भन्दा ७० प्रतिशत धेरै सङ्क्रामक हुने बताइएको छ । नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका हुन् । जसकारण सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिस सरकारले राजधानी तथा वरपरका क्षेत्रमा कडा लकडाउनको घोषणा गरिसकेको छ ।

थप कडाइँका समाचारले निरास पार्ने भए पनि त्यसको विकल्प नभएको जोन्सन बताउँछन् । भाइरसले आफ्नो प्रकार बदल्दा हामीले पनि आफ्नो रक्षाको तरिका बदल्नुपर्ने उनले जनाए । अहिले अत्यन्त कठिन समय भए पनि खोपका कारण आगामी वर्षको अप्रिलसम्ममा स्थिति निकै सुध्रिसक्ने उनले विश्वास व्यक्त गरेका छन् ।

तर, इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीका अनुसार नयाँ प्रकारको कोरोना भाइरस थप घातक भएको हालसम्म कुनै प्रमाण फेला परेको छैन । भाइरसमा यस्ताखालका परिवर्तन आउनुलाई सामान्य मानिन्छ । पहिलो पटक वुहानमा देखा परेको कोरोना भाइरसमा हालसम्मको समयमा हजारौँ परिवर्तन भइसकेको बताइन्छ ।