Rumpum Advertisement

कोरोना महामारी : स्थानीय तहमा निषेधाज्ञा र खुलेका विद्यालय बन्द

कोरोना महामारी : स्थानीय तहमा निषेधाज्ञा र खुलेका विद्यालय बन्द

महेन्द्रनगर / कोरोना सङ्क्रमित बढ्न थालेसँगै कञ्चनपुरका स्थानीय तहमा निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् ।

केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा निषेधाज्ञा लागु भएको हो ।

बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका मापदण्ड पुरा गरेर विद्यालय सञ्चिालन गरिरहेका थिए । सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन् ।

दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।

दोधारा चाँदनी नगरपालिकामा पनि एक साताका लागि निषेधाज्ञा गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नगर क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

सो अवसधमा अत्यावश्यक कामबाहेक सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए । रासस