विराटनगर / विराटनगरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको हो । उनकी श्रीमती र अर्का छोरा घाइते छन् ।
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरिक्षक दीपक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए ।
‘राति ताप्न बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएको देखिन्छ ।’ उनले भने ‘सुतेकै क्रममा १४ वर्षीय बालक रविन दास तत्माको मृत्यु भयो ।’
३२ वर्षीय इन्दुदेवी दास तत्मा र उनको ७ वर्षीय छोरा किसनकुमार दास तत्मा जलेर घाइते भएका छन् । राजेश भने शनिबार पाहुना गएका थिए ।
घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको उनले बताए । आगलागीमा चारलाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।