Rumpum Advertisement

संकट परेपछि दाहालको दैलोमा ओली

संकट परेपछि दाहालको दैलोमा ओली

विराटनगर । पार्टी भित्र एक्लिएन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी भित्र संकटमा परेका प्रधानमन्त्री ओली साथ खोज्दै दाहाल निवासमा पुगेका हुन् । शनिबार करिब एक घण्टा छलफल गरेका ओली सहमति नजुटेपछि फर्किएका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले दाहाललाई बाहिर करिब दुई घण्टा कुराए ।

त्यसअघि पनि ओलीलाई भेट्न जाँदा बारम्बार कुर्नुपरेको दाहालले आफ्नो सचिवालयका सदस्यहरूसँग भनेका थिए, ‘केपीजीले सारै अपमान गर्नुभयो । तीन–चार चोटि नै भयो, घण्टौं बाहिर कुराउनुहुन्छ ।’

ओली प्रधानमन्त्री बनेयता उनलाई भेट्न दाहाल तीन सय चोटिभन्दा धेरै बालुवाटार पुगेका छन् । शनिबार भने दृश्य बदलियो, ओली स्वयं दाहाल निवास खुमलटार पुगे ।

प्रधानमन्त्री भएयता ओली दाहाल निवास खुमलटार गएको यो दोस्रो पटक हो । यसअघि २०७५ मङ्सिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए । शनिबार भने पार्टीभित्र संकटमा परेपछि त्यसलाई पार लगाउने उपायको खोजीमा उनी पुगेका हुन् ।

करिब एक घण्टा बस्दा अध्यक्षद्वय ओली र दाहालबीच पुरानै विषयमा कुरा भए । भेटमा ओलीले दाहाललाई आफूमाथि लगाइएको ‘लाञ्छनायुक्त’ पत्र फिर्ता लिन आग्रह गरेका थिए । दाहालले दुवै प्रस्ताव कमिटीमा छलफलका क्रममा रहेकाले त्यहीं टुंगो लगाउने बताएका थिए । यो समाचार आजका कान्तिपुर दैनिकमा छ ।