birat ribon

मध्यवर्तीमा मकुना मार्न चाहनेभन्दा माया गर्ने बढी

जसले मार्छ म जेल जानेछु : कलाकार विक्रमश्रि

Neuro
मध्यवर्तीमा मकुना मार्न चाहनेभन्दा माया गर्ने बढीजसले मार्छ म जेल जानेछु : कलाकार विक्रमश्रि

विष्णुप्रसाद / यज्ञ अधिकारी

विराटनगर/सप्तरीको पाडेमारामा करेन्ट लागेर कोसीटप्पु वन्यजन्तु आरक्षको दाह्रे हात्ती मरेको घटनाको चर्चा सेलाउन नपाउँदै आरक्षभित्र रहेको मकुना हात्ती मार्न खोजिएको कुराले सर्वत्र चासो र चिन्ता बढाएको छ । सुनसरी प्रशासन, आरक्ष सेरोफेरोका केही स्वार्थ समूहबाहेक मध्यवर्ती क्षेत्रका केही पनि मकुना हात्ती मार्न हुने पक्षमा छैनन् ।

cura insider

‘जति नै क्षति पुर्‍याए पनि मारिहाल्नु भने हुँदैन,’ सुनसरी प्रकाशपुर बानडाँडाका गेहेनाथ पोखरेल भन्छन्, ‘विचरा अबुझ पशु हो । जे भए पनि माया लाग्छ ।’

कोसीटप्पु आरक्षबाट बाहिर आएर दाह्रे तथा मकुना हात्तीको समूहले पटक–पटक घर भत्काई दुःख दिने परिवारमा पर्छन् पोखरेल । मध्यवर्ती क्षेत्रका विश्वास बराल पनि पोखरेलजस्तै हात्तीपीडित हुन् । हात्तीले घर भत्काए पनि त्यो मरोस् भन्ने भाव आफ्नो मनमा कहिले नआएको बराल बताउँछन् । ‘गाउँमा नआइदेओस्, उतै जङ्गलतिरै बसोस् भन्ने त हुन्छ,’ उनले भने, ‘तर हात्ती मरोस् वा मारौँ भन्ने चाहिँ कहिले लागेन ।’

मध्यवर्ती क्षेत्र र आरक्ष छुट्याउने विद्युतीय बार छिचोल्न खोज्दै मकुना । तस्बिर – राजेन्द्र पोखरेल

२०७७ मङ्सिर २९ गते सोमबार गँहुबारीमा पानी पटाउन जाने क्रममा मकुना हात्तीको आक्रमणमा परी कोसी गाउँपालिका–६ का प्रमोद यादवको मृत्यु भएको थियो । सो घटनापछि कोसीटप्पु आरक्ष तथा सुनसरी जिल्ला प्रशासन मकुना बहुलाएको तर्कसहित त्यसलाई मार्नुपर्ने निष्कर्षमा पुगेको थियो ।

सार्वजनिक रूपमा भइरहेको विरोधका कारण हाल सुनसरी प्रशासन निर्णय कार्यान्वयनमा केही हच्के पनि मनसाय परिवर्तन गरेको छैन, जसका कारण मकुनामाथि आइलागेको सङ्कट टरेको छैन ।

तर निर्णय सार्वजनिक भएयता देश–विदेशका संरक्षणप्रेमीहरूबाट आरक्ष र जिल्ला प्रशासनको लगातार विरोध भइरहेको छ । सार्वजनिक रूपमा भइरहेको त्यस्तो विरोधका कारण हाल सुनसरी प्रशासन निर्णय कार्यान्वयनमा केही हच्के पनि मनसाय परिवर्तन गरेको छैन, जसका कारण मकुनामाथि आइलागेको सङ्कट टरेको छैन ।

६ वर्षअघि भारत पश्चिम–बङ्गालको जङ्गलबाट झापाको बाहुनडाँगी हुँदै कोसीटप्पु, मृगकुञ्ज घुम्न आएको १० वटा भाले हात्तीको समूहको एक सदस्य हो, अहिले सुनसरी प्रशासनले मार्न चाहेको मकुना हात्ती । खासगरी आरक्षको हात्तीसारमा रहेका शोभाकली, अम्रिकाकली, दमदमकली, लक्ष्मीकली आदि ढोइ सम्झेर भारत पश्चिम बङ्गालका मत्ता हात्तीको समूह नेपाल आऊ–जाऊ गरिरहन्थे । ६ वर्षअघि बाहुनडाँगीमा तारबारको अवरोध बाक्लो बनाएपछि मकुनालगायत केही हात्ती यतै रोकिएका छन् ।

आरक्षभित्र खानेकुराको अभाव हुँदा बेला–बेलामा हात्ती, अर्ना, बँदेल आदि जनावर मध्यवर्ती क्षेत्रमा आउने–जाने गर्छन्, जसका कारण कहिलेकाहीँ भौतिक तथा मानवीय क्षति हुने गर्छ । तर त्यस्तो क्षति हुँदा कानुनी रूपमा क्षतिपूर्ति पाइन्छ ।

जङ्गलमा हात्ती हिँड्ने जैविक मार्गमा मानवीय अवरोध र अतिक्रमण बढेका कारण सङ्कटापन्न हुँदै गएको हात्तीको जीवन सिध्याउने प्रशासनिक चाहनाले संरक्षणप्रति राज्यको दृष्टिकोण नाङ्गिएको मात्र छैन, आरक्ष स्थापनाको औचित्यमा प्रश्नसमेत उठेको छ । विज्ञको रायविनै मकुनालाई ‘बहुलाहा’ संज्ञा दिइएपछि सरोकारवाला, संरक्षणाप्रेमीलगायतका मनमा मकुनाप्रति सहानुभूति सँगसँगै सुनसरी प्रशासनप्रति आक्रोश पलाएको छ ।

मधुवन, शुक्रबारेका भोजराज न्यौपानेका अनुसार मकुना हात्तीले मध्यवर्ती क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याए पनि हाकाहाकी हात्ती मार्ने कुरा मान्य हुँदैन । ‘जैविक वा कृत्रिम उपाय गरेर हात्तीलाई संरक्षित क्षेत्रमा सीमित गर्न सकिन्छ,’ उनले भने, ‘सामान्यतया जङ्गली हात्ती मानिसले होहल्ला गर्दा भाग्ने गर्छन् । हात्ती भगाउन वा आरक्षमा सीमित गर्न उपायहरू गर्दा पनि पार लागेन भने मात्र हो अन्तिम विकल्प प्रयोग गर्ने ।’

कोसी पक्षी समाज बराहक्षेत्रले ‘अन्तिम विकल्प’ भन्दै जिल्ला तथा आरक्ष प्रशासनबाट भएको हात्ती मार्ने निर्णयको भत्सर्ना गरेको छ । ‘वन्यजन्तुले पनि बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ,’ समाजका अध्यक्ष सञ्जीव आचार्यले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘नेपालमा जङ्गली हात्ती दिन–प्रतिदिन मासिँदै गएको परिप्रेक्ष्यमा मकुना व्यवस्थापनका अन्य विकल्पमा छलफल गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’

कोसीटप्पुको ‘सेलिब्रिटी’ मकुना । तस्बिर – कृष्ण बहाब भट्टराई

युचेप नेपालका अध्यक्ष रविन घिमिरेका अनुसार पृथ्वीमा भएका हात्तीदेखि भुसुनासम्म सबैको महत्त्व उत्तिकै हुन्छ । सबै प्राणीसँग मान्छेको प्रत्यक्ष–अप्रत्यक्ष कार्मिक सम्बन्ध हुन्छ । ‘कोसीटप्पु आरक्ष स्थापना भएयता आरक्ष र मध्यवर्ती क्षेत्रमा गरी आधा दर्जन जङ्गली हात्ती मरिसके । तर मध्यवर्तीको समस्या ज्युँका त्युँ छ । कुनै हात्ती मर्दैमा वा मार्दैमा स्थानीयको समस्या समाधान हुँदैन,’ उनले भने, ‘दिगो समाधानका लागि आरक्ष क्षेत्रको व्यवस्थापन राम्रो हुनुपर्छ । हात्तीलाई त्यहीँ घुलमिल हुने वातावरण मिलाउनुपर्छ ।’ कुनै पनि बेला लोप हुने सक्ने हात्तीजस्ता अमूल्य निधिको संरक्षणमा सरकारले विशेष चासो दिनुपर्ने उनको भनाइ छ ।

कोसीटप्पुका हात्तीका विषयमा कलम चलाउँदै आएका पत्रकार वेदराज पौडेल हात्ती मासिनाले आरक्ष क्षेत्रको पारिस्थितिक प्रणालीमै असर पर्ने बताउँछन् । जैविक घेरा, विद्युतीय तारबारलगायत विकल्प प्रयोग गर्नुपर्ने, हात्तीको चरन क्षेत्र संरक्षण तथा विस्तार गर्नुपर्ने पौडेलको सुझाव छ । ‘माकुना मारिदैमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमण शून्यमा झर्छ भन्ने प्रत्याभूति प्रशासन तथा गाउँपालिका अध्यक्षले दिन सक्छन् ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘वन्यजन्तु र मानवबीचको अन्तरद्वन्द्व न्यूनीकरण गर्न कुनै कदम नचाली हात्ती मार्न गरिने निर्णय स्वीकार्य हुँदैन ।’

उनले हात्ती र मानवद्वन्द्व कम गराउन सोलार फेन्सिङ दुरुस्त पार्ने, जैविक बार निर्माण गर्ने, आरक्षको हात्तीसार सार्ने, जङ्गली हात्तीका लागि आरक्षभित्र नै आहार व्यवस्थापन गर्ने, हात्तीलाई लगाइएको रेडियो कलर दुरुस्त राख्नेलगायत सुझाव दिएका छन् ।

यता, हात्ती मार्न लागिएको कुराले मानिसमा उत्पन्न प्रतिक्रिया तथा क्षुब्धता विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा व्यापक रूपमा देखापरेका छन् ।

‘मारेर पनि समस्या समाधान हुन्छ र ? हामी मान्छे हो, मान्छेले विवेक प्रयोग गर्नुपर्छ । नत्र त्यो घाँस खाने र हामी भात खानेमा के फरक हुन्छ ?’ झापा बाहुनडाँगीका प्रमेशले लेखेका छन्, ‘हाम्रोमा हात्तीले धेरै समस्या दिन्छन् । हात्ती आक्रमणमा परी हरेक वर्ष मान्छे पनि मर्छन् तर जे जति भए पनि हाम्रो यहाँ हात्ती मार्ने कल्पना गर्दैनौँ ।’

‘मार्नलाई त शिकारी छँदै थिए नि ! बचाउनलाई हो संरक्षण स्थापना गरिएको,’ फेसबुकमा चन्द्र लिम्बू लेख्छन्, ‘सयौँ उपाय छन् जङ्गली पशु नियन्त्रणका, मार्ने योजना बुनेर कुनै महान् काम गरेको नसम्झौँ ।’

‘वन्यजन्तु संरक्षण गर्न भनी स्थापित संरक्षण क्षेत्र अनि सोही संरक्षण क्षेत्रको व्यवस्थापनका लागि खटाइएका कर्मचारी र आवश्यक स्रोत–साधनको व्यवस्था मिलाउन वार्षिक ठुलो रकम खर्च भइरहेको छ,’ सुवास पौडेल अविरल आरक्ष स्थापनाको औचित्यमै प्रश्न उठाउँदै सोध्छन्, ‘यदि वन्यजन्तु संरक्षण गर्न सकिँदैन र मार्नैपर्छ भने किन चाहियो संरक्षण क्षेत्र अनि ती विवेकहीन कर्मचारी ?’

इनरुवाका इभेन्ट मेनेजमेन्टका अध्यक्ष राकेश निरौलाका अनुसार हात्ती मार्ने सुनसरी प्रशासनको निर्णयले उनीहरूमा रहेको अल्पज्ञान दर्शाउँछ । ‘यी कस्ता प्रशासक हुन्, जसले हात्तीको महत्त्व बुझेका छैनन्,’ सामाजिक सञ्जालमा इनरुवाका व्यवसायी युगलकिशोर राठीले लेखेका छन्, ‘राजश्वको स्रोत, पर्यटकीय आकर्षणको केन्द्र दुर्लभ जन्तु हात्ती मार्नु भनेको राज्यको एउटा ठुलो सम्पदा नष्ट हुनु हो ।’

चर्चित कलाकार विक्रमश्रिको क्षुब्धतामिश्रित प्रतिक्रिया छ, ‘मकुनालाई जसले मार्छ म जेल जाने काम गर्नेछु !’

‘मान्छे मार्‍यो, पागल भयो भन्दै हात्ती मार्नुपर्छ भन्नेहरू मान्छेले मान्छे मार्दा, बहुलाएर राक्षसी प्रवृत्ति देखाउँदा चाहिँ मार्ने भन्दैनौ त ? मानवअधिकार चाहिन्छ भने हात्ती अधिकार चाहिँदैन र ?’ शिक्षक सरोज बरालले लेखेका छन् ।

भगवती-सुनसरी पूर्व विद्यार्थी शैक्षिक प्रतिष्ठानका उपाध्यक्ष विश्वनाथ ओझाको आलोचनात्मक जिज्ञासा छ, ‘दसैँ वा धार्मिक कार्यक्रममा खसीबोका काट्दा पशु–अधिकारकर्मीहरूको अनेकौँ उपदेश सुन्नुपर्छ तर हाकाहाकी हात्ती मार्ने आदेश हुँदा चाहिँ कुनै पशु–अधिकारकर्मीहरू अघि बढेको देखिएन । एनजिओ आइएनजिओले खर्चबर्च नदिएर हो कि ?’

‘मकुना बहुलाएको छैन । मकुनालाई बहुलाएको भन्ने आरोप लगाउनेहरूको मानसिकता विचलित भएको छ,’ पत्रकार राजेन्द्र पोखरेल भन्छन्, ‘मकुनालाई मार्ने होइन । आरक्षभित्र छाडा छोडिएका हजारौँ घरपालुवा जनावर बाहिर निकाल्ने काम गरौँ । ती पशु मध्यवर्ती क्षेत्रका किसानलाई निःशुल्क वितरण गरौँ । संरक्षण क्षेत्रमा पशुपालन गर्न पाइँदैन ।’

मकुना मार्ने सुनसरी प्रशासनको निष्कर्षपछि उत्पन्न प्रतिक्रियाहरूमा केही आक्रोशपूर्ण पनि छन् । दर्जनौँ त्यस्ता प्रतिक्रियामध्ये पत्रकार ज्ञानेन्द्र खड्काको भनाइ उहाँ उल्लेख गर्नु समीचीन छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फटाहा र गैरजिम्मेवार प्रशासकहरूलाई मानव र वन्यजन्तुको सम्बन्धबारे पढाउनुपर्ने भयो ।’

छ वर्षअघि सुनसरीको हरिपुरमा विद्युतीय धरापमा पारी मारिएको अर्को मकुना । तस्बिर – वेदराज पौडेल

jackson ribon