Rumpum Advertisement

‘समन्वय नहुँदा न्याय सम्पादनमा समस्या’

‘समन्वय नहुँदा न्याय सम्पादनमा समस्या’

विराटनगर/मोरङ जिल्लाका स्थानीय तहका उपप्रमुखहरुले समन्वय नहुँदा न्याय सम्पादनको काममा समस्या आउने गरेको बताएका छन् ।

मोरङ न्यायिक सञ्जालले शनिबार विराटनगरमा आयोजना गरेको न्यायिक सेवाको प्रभावकारिता वृद्धिका लागि अदालत र न्यायिक समितिबीचको साझेदारिता विषयक अन्तक्र्रियामा सहभागी उपप्रमुखहरुले समन्वय नहुँदा समस्या आएको गुनासो गरेका हुन् ।

वहुविवाह, अन्तरजातीय विवाह, सम्बन्ध विच्छेदलगायत विषयमा प्रहरी र अदालतसँग समन्वय नहुँदा समस्या आएको बताए ।

मोरङ न्यायिक सञ्जाल समितिका संयोजक एवम् विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले समन्व नहुँदा समस्या हुने र विभिन्न क्षेत्रबाट दवाब आउने गरेको बताउँदै कानुन हेरेर व्यावहारिक रुपमा न्याय दिने काम गरेको बताइन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरे । कार्यपत्र प्रस्तुत गर्दै उनले परिवर्तनका सम्भाहक बन्न आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले घरेलु झैझडा, सीमा विवाद, आर्थिक लेनदेन आदि क्षेत्रमा पालिकाले न्याय सम्पादन इमान्दारिता देखाएको बताए ।

प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले प्रदेश र स्थानीय तहबीच न्यायिक समन्वय र सम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गर्दै न्यायमा गुणस्तरीय पहुँच हुनुपर्ने मान्यता रहेको बताए ।

कार्यक्रममा मोरङका १७ पालिकाका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख, न्यायिक समितिका सदस्य सहभागी थिए ।