Rumpum Advertisement

जुँगा–दाह्री पाकेको अनुहार लिएर क्याम्पस जाँदा

जुँगा–दाह्री पाकेको अनुहार लिएर क्याम्पस जाँदा
रामविक्रम थापा

पहिले जागिरअनुसारको पढाइ हुँदैनथ्यो । अहिले पढाइअनुसारको जागिर हुँदैन । अर्थात् पहिले जागिर सस्तो र पढाइ महँगो थियो भने अहिले ठिक विपरीत छ । पहिले मेट्रिक गर्ने विद्वान कहलिन्थ्यो भने अहिले स्नातकोत्तर डिग्री गर्नेको कुनै भाउ छैन, कसैले गन्दैन ।

५–६ पटक भर्ना हुँदै छाड्दै गरेको मैले त्यत्तिकै होइन । बिएस्सी/बिएड गरेर खरिदारस्तरको जागिर खाँदो म बबुरोलाई किन चाहियो स्नातकोत्तर डिग्री ? शाखा अधिकृतसरहको मावि शिक्षक भएपछि भने मलाई स्नातकोत्तरको प्रमाणपत्र चाहियो । बढुवा हुनका अतिरिक्त उच्च माविका ११ र १२ कक्षा पढाउन पनि मैले स्नातकोत्तर गर्नैपर्ने भयो । फेरि, समयको माग ‘आजको जमानामा डिग्री नगर्ने मान्छे पनि के मान्छे ?’ आफूले पढाएका विद्यार्थीहरू कोही क्याम्पसमा पढाउँछन् भने कोही दुई–तीन विषयमा डिग्री गरेर निजामतीको उपसचिव जागिर खान्छन् ।

झोँक चल्यो मलाई पनि । दुई मुरीको उमेर काटेर जुँगा–दाह्री पाकेको अनुहार लिएर हान्निएँ म सुकुना क्याम्पसतिर । आफूले पढाएका विद्यार्थीका पनि विद्यार्थीसित सहपाठी भएर कसरी पढ्ने मैले ? आफ्नै विद्यार्थी त्यहाँ क्याम्पसमा गुरू भएको भेटियो भने !

आत्मग्लानी र हीनताबोधले पानी–पानी हुँदै क्याम्पस पुगेर प्रवेश–परीक्षा दिएँ र एमएडमा भर्ना भएँ म । कस्ता–कस्ता सरहरू रहेछन् र कस्तो पढाउँदा रहेछन् ? देख्ने र चाख्ने तीव्र जिज्ञासाले एक हप्ताजति कक्षा लिन पनि क्याम्पस गएँ म । कक्षामा आफूभन्दा अझ बढी दाह्री–जुँगा पाकेका र धेरै भोटा फटाउने सहपाठीहरू (केही सङ्ख्यामा) देख्न पाउँदा भने ढुक्क भएँ । थोरै चिन्ता दूर भयो मेरो ।

प्रौढावस्थाको अनुभवले हो कि के हो– सरहरूको पढाइ भने मलाई सन्तोषजनक लागेन । कोही यसो किताबबाट सारेर ल्याएर नोट लेखाउने र कोही बेकारका बकमफुसे गफ गरेर घण्टी बिताउने गर्दा रहेछन् । एकजना मनोविज्ञानका सर गणेशप्रसाद दाहालको बाहेक अरु सरहरूका कक्षा मलाई निकै पट्यारलाग्दा लागे । एक घण्टी बिताउने धैर्यता कायम गर्न पनि मलाई हम्मे–हम्मे पर्‍यो । बोक्रे गफमात्र ठूलाठूला गरेर टपरटुइयाँ हाँक्ने सर पनि फेला परे ।

पछि, प्रथम वर्षको परीक्षा दिँदा भने मेरो खुसी र प्रशन्नताले सीमा नाघ्यो । मलाई सावित्रा प्रावि बाम्राङमा पढाउने सानुकाजी श्रेष्ठ सर मेरो पछाडिको बेन्चमा बसेर परीक्षा लेख्दै हुनुहुन्थ्यो भने मेरो अगाडिको बेन्चका परीक्षार्थी रहेछन्– सेवानिवृत्त शिक्षक केशव सुनाम (६४वर्ष) । मावि शिक्षक र स्रोतव्यक्ति भोगेर सेवानिवृत्त मेरा गुरू सानुकाजी श्रेष्ठसित परीक्षा सकेर भलाकुसारी गर्दा बेग्लै आनन्दानुभूति भयो । अब भने मेरो मनको अज्ञात भय मनबाट पूरै हटेर गयो । आफ्नो विद्यार्थीको विद्यार्थी भएर कक्षा लिनुपर्ने र विद्यार्थीको विद्यार्थीलाई सहपाठी बनाउनुपर्ने आशङ्का बोकेको मैले आफ्नै गुरूलाई सहपाठीका रूपमा पाउँदा हर्षको चरमोत्कर्षमा पुगेँ म ।

सिकाइ जीवनपर्यन्त हुन्छ र पढाइको कुनै उमेर हद हुँदैन । बुझाइ र दृष्टिकोण आ–आफ्नै हुन्छन् । यति वर्षभन्दा माथिकाले पढ्न नपाउने भनेर कुनचाहिँ शिक्षा ऐन र नियमावलीमा लेखिएको छ र ? गाडीमा भाडा उठाउने त्यही कन्ट्याक्टरले उही व्यक्ति मलाई विभिन्न साइनोले सम्बोधन गर्दा म स्वयम्लाई अनौठो लाग्छ । टोपी नलगाएको बेला मलाई उसले ‘दाजु ! भाडा दिनुस्,’ भन्छ । ढाका टोपी लगाएको बेला ‘अङ्कल’ भन्छ । जाडाको समयमा घ्याप्प कान छोप्ने कानेटोपी लगाएको बेला उसैले मलाई ‘बाजे’ भनेर बोलाउँछ ।

सिकाइ जीवनपर्यन्त हुन्छ र पढाइको कुनै उमेर हद हुँदैन । बुझाइ र दृष्टिकोण आ–आफ्नै हुन्छन् । यति वर्षभन्दा माथिकाले पढ्न नपाउने भनेर कुनचाहिँ शिक्षा ऐन र नियमावलीमा लेखिएको छ र ?

दाह्री काटेको बेला र नकाटेको बेला पनि मलाई गरिने सम्बोधन फरक–फरक हुन्छन् । उमेर र स्मरणको सम्बन्ध भने व्युत्क्रमानुपाति हुने रहेछ । अर्थात् उमेर बढ्दै जाँदा स्मरणशक्ति घट्दै जाँदो रहेछ । तर दृढ इच्छाशक्तिका अगाडि कुनै कमजोरीका बाबुको पनि केही नलाग्दो रहेछ । पहिले, आफूसितै आइएस्सी र बिएस्सी पढ्दाका २–३ जना साथीहरू पनि मसितै एमएडको सहपाठी हुन आएकाले पनि मलाई थप ऊर्जा प्राप्त हुन गयो ।

परीक्षाको बेला अलिअलि पढेर पनि एकपटक ब्याक लागेर मैले एमएड उत्तीर्ण गरेँ । पूर्वज्ञान, पेसागत अनभव र साहित्यिक लेखनशैलीले पनि परीक्षामा निकै सहयोग पु¥याएको मलाई अनुभूति भयो । एमएड पढाइकै क्रममा आन्तरिक प्रतियोगितात्मक प्रतिस्पर्धामा द्वितीय श्रेणीको बढुवा परीक्षामा एक नम्बरमा नाम निकाल्न सफल भएँ । यो सफलताको श्रेय पूर्वज्ञान, अनुभव, एमएडको चालु पढाइ र लेखनशैलीलाई नै मैले दिनुपर्छ । जे होस्–पढाइले केही न केही नयाँ ज्ञान उपार्जन हुने नै रहेछ ।

कोदो रोपेर धान खोज्नु हुँदैन । लगानीअनुसारको प्रतिफल पाइन्छ । बुढेसकालको यो सामान्य पढाइमा मैले डिभिजनको अपेक्षा कहिल्यै गरिनँ । मरेर, द्वितीय श्रेणी (५० प्रतिशत) टेकिएला कि भन्ने लक्ष्यमा पढियो र सोहीअनुसार परीक्षा दिइयो । शोध–निर्देशक भोजराज घिमिरे सरलाई शोधपत्र बुझाइयो । भोलिपल्ट, द्वितीय श्रेणी टेक्छ कि टेक्दैन भनेर दुवै वर्षका मार्कसिट निकाली क्यालकुलेटरमा प्राप्ताङ्क जोड्न थालियो । प्राप्ताङ्क जोडिसकेपछि थाहा भो– मेरो मार्क त घाँटी–घाँटी पुगेछ । अर्थात् प्रथम श्रेणीको निकटमै पो पुगेछ !

अब मेरो लोभको भाँडो बढ्न थाल्यो । शोध–निर्देशक र विभागीय प्रमुखलाई ब्यहोरा जाहेर गर्दै बिन्ति बिसाउन थालियो । यति अङ्क ४६ त आइहाल्छ नि भन्ने आश्वासन पनि पाइयो । मेरै विद्यार्थी विज्ञान राउतले नेपालीमा ४७ अङ्क पाएर गतसाल प्रथम श्रेणी टेकेकै हुन् । यी विभिन्न अवस्था र परम्पराको अध्ययनले मलाई आशावादी बनाएकै हुन् । तापनि अर्काको हात र तजबिजको कुरा, डर त हुने नै भयो । छातीमाथि एमानको जाँतो झुन्ड्याएर समय गुजारिरहेँ ।

वैशाखदेखि भदौसम्मका पाँच महिना समय प्रश्नवाचक मनस्थितिमा मैले बिताएँ । मनमा अनेक आशङ्का बोकेर भयग्रस्त अवस्थामा २०७१ भदौ २१ गते शनिबार शोधको ‘भाइभा’का निम्ति सुकुना क्याम्पस बिहानै पुगियो ।

मार्कसिटको फोटोकपी राखेर निरीह अवस्थामा बाह्य परीक्षकलाई बिन्तिभाउ पनि बिसाइयो । ‘मागेर नम्बर पाइन्छ ?’ मज्जैले थर्काएर कड्किनुभो, बाह्य परीक्षक प्राध्यापक डाक्टर काफ्ले सर ! शीताङ्ग भएर लल्याकलुलुक हुँदै हतोत्साही भएँ म त्यतिबेलै । लाग्यो एक मन त, भाइभा नदिई त्यत्तिकै छाडेर हिँडु कि ! फेरि अर्को मनले त्यसो नगर् भाइ भन्दै थुमथुमायो र धैर्यतापूर्वक थामिएर बस्दो भएँ ।

‘भाइभा’पछिका मेरा दिनहरू घोर निराशामा बिते । फेरि, अर्को मनले सोच्यो–‘त्यसो भने पनि आखिर ठूला मान्छेले मलाई नबिगार्लान् !’ एक महिनापछि , परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ट्रान्सक्रिप्ट निकालेपछि बहुप्रतिक्षित रहस्योद्घाटन भएरै छाड्यो । ५० पूर्णाङ्कको शोधपत्रमा ४२ अङ्क दिएर ५९ दशमलव ६ प्रतिशत (५९६ अङ्क) पु¥याई द्वितीय श्रेणीमा मलाई झुन्ड्याइएछ । अति दुःखी भएर आँसुमा डुब्दै ट्रान्सक्रिप्ट च्यापेर आएँ र सुकुना क्याम्पसमा पुगेर चारित्रिक प्रमाणपत्र लिएँ ।

अन्तिम गाँसमा ढुङ्गा लाग्यो र खाएको नखाई भयो । आजीवनको दीर्घ रोग यो लाग्यो र कहिल्यै निको नहुने घाउ भयो । सुकरातलाई विष पिलाइएकै नियति भो मेरो ! एक हप्तासम्म आँखामा आँसु थामिएनन् । अरूलाई दिइँदै आएको ४६ अङ्क मलाई दिएको भए कसको के बिग्रन्थ्यो ?

[email protected]