Rumpum Advertisement

कोरोनापीडित व्यवसायी आन्दोलित

Neuro
कोरोनापीडित व्यवसायी आन्दोलित

काठमाडौँ/कोरोना महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसका कारण लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै सात दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध सङ्गठनहरु, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामग्री व्यापार सङ्घ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकलालगायतका व्यवसायसँग सम्बन्धित २२ सङ्घसंस्थाले सङ्घर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको व्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसँग राखिएको सङ्घर्ष समितिका संयोजक कर्णबहादुर शाहीले बताए ।

माग पूरा गराउन सम्बन्धित निकायमा सात दिनको म्याद दिएको उल्लेख गर्दै सङ्घर्ष समितिले माग पूरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैङ्क, बित्तीय संस्था एवम् सिंहदरबार घेराउ गर्ने सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।

कोभिड १९ सङ्क्रमणका कारण गत चैत महिनाको लकडाउनपछि धेरै पेशा, व्यवसाय पूर्ण रुपमा आजसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।