
डाँकाको खेमामा मनोरञ्जनका लागि बेलाबेलामा नाचगान हुने गथ्र्यो । यसका लागि गोप्य रूपमा बाहिरका कलाकारहरू बोलाउने चलन थियो । तर सधैं नाचगानमात्र कति हेर्नु भन्ने सोचेर एकपटक डाँकाका सरदारले बृहत् रूपले कवि सम्मेलन गर्ने योजना बनाए ।
सरदारले घोषणा गरे– सम्पूर्ण क्षेत्रबाट आउने हरेक रसका कविहरूलाई कवि सम्मेलनमा विशेष आमन्त्रण छ । सम्मेलनमा सहभागी हुने कविहरूलाई राम्रो पारिश्रमिक उपलब्ध गराइनेछ ।
कवि सम्मेलन गर्ने ठाउँ र समय निर्धारण गरियो । कविहरूलाई निमन्त्रणा गर्न सरदारका खास मान्छेहरू आफैँ खटिए । नभन्दै राम्रो पारिश्रमिकको लोभ देखाइएकाले कविहरू निर्धारित समयमा नै आफ्ना कवितासहित डाँकुको खेमामा उपस्थित भए ।
निर्धारित समयमै कवि सम्मेलन सुरु भयो । कविहरूमध्ये कसैले प्रेम रस, कसैले शृङ्गार रस, कसैले भक्ति रस र कसैले राष्ट्रभक्तिका कविताहरू सुनाए । कविहरूबाट यसअघि कहिल्यै नसुनिएका राम्रा–राम्रा कविता सुन्न पाएर डाँकुहरू निकै प्रसन्न भए ।
कविहरूका बीचमा एक जना दुब्लो–पातलो, अग्लो, शरीर क्षीण भएर पातजस्तो हल्लिने खालका कवि थिए, ती चाहिँ वीर रसका कवि थिए । उनी वीर रसको कविता वाचन गर्दागर्दै भुक्लुक्क ढले ।
अचानक आइलागेको यो परिस्थितिले गर्दा सबै एकछिन अक्क न बक्क भए । वीर रसका कविजीलाई के भयो ? केहीबेर कसैले केही सोच्नै सकेन ।
भनिन्छ, डाँकाहरूको हाँसोमा मान्छेहरूको मृत्यु लुकेको हुन्छ । तर सघन जंगलबीच सिर्जित त्यो रमाइलो वातावारणमा मृत्यु वा भयको कुनै डर थिएन ।
त्यत्तिकैमा डाँकुका सरदारले डाक्टरलाई तुरुन्त बोलाउन आदेश दिए । तर कविहरूमध्येका एक जनाले भने, ‘हजुर, यी कवि महोदयलाई डाक्टरको औषधिले काम गर्दैन । बरु रुपैयाँको बन्डल अगाडि हल्लायो भने काम हुन्छ । कवि महोदय जुरुक्क उठिहाल्छन् ।’
नभन्दै उनको उपाय अचक रह्यो । डाँकाको सरदारले ‘कवि महोदय ! आँखा खोल्नु त, हेर्नुहोस् मेरो हातमा के छ ?’ भन्दै रुपैयाँको बन्डल हल्लाएको थाहा पाउनासाथ वीर रसका कविलाई सञ्चो भयो ।
उनले पुलुक्क आँखा खोले । कवि सम्मेलन समाप्त भयो ।
त्यसपछि डाँकाका सरदार धेरै खुसी भएर अट्टाहास गरी हाँस्न थाले । भनिन्छ, डाँकाहरूको हाँसोमा मान्छेहरूको मृत्यु लुकेको हुन्छ । तर सघन जंगलबीच सिर्जित त्यो रमाइलो वातावारणमा मृत्यु वा भयको कुनै डर थिएन ।
‘जुन कवि महोदयलाई जति पारिश्रमिक दिन्छु भनेर ल्याइएको हो, उहाँ कवि महोदयलाई त्यसको दुईगुना पारिश्रमिक दिएर बिदा गरिदेऊ !’ डाँकाका सरदारले डाँकाहरूलाई आदेश दिँदै भने, ‘आज म धेरै खुसी छु ।’
आदेशको हुबहु पालना भयो । सबै कविहरू दोब्बर पारिश्रमिक पाएर डाँकाको सरदारप्रति कृतज्ञ हुँदै बिदा भए ।
एकान्त बाटो हुँदै कविहरू घर जाँदै थिए । उनीहरू आपसमा खुसी साटासाट पनि गरिरहेका थिए । उनीहरूले जिन्दगीमा त्यस्ता मनकारी डाँकाहरू देखेका थिएनन् ।
‘जसको एउटा हाँसोमा कैयौंको मृत्यु हुन सक्छ, त्यस्ता डाँकाहरूको मुटुमा पनि दया, माया, करुणा र उदारताजस्ता सुन्दर भावहरू हुँदा रहेछन्, कस्तो आश्चर्य !’ कविहरू यस्तै सोच्दै अघि बढिरहेका थिए ।
अचानक डाँकाहरूको एउटा डफ्फाले कवि महोदयहरूलाई चारैतर्फबाट घेरा हाल्यो । डाँकाहरूले कविहरूसँग भएको सबै रकम लुटे ।
कविहरूले आफूहरू त्यस क्षेत्रमा त्यसै आएको नभई सरदारद्वारा बोलाइएर मात्र आएको, सरदारले नै खुसी भएर उपहार दिएको बताउँदै नलुट्न अनुनय–विनय गरे तर डाँकाहरूले उनीहरूका साथमा रहेको रकममात्र होइन, कविता लेखिएको कापी र कलमसमेत लुटे ।
डाँकाहरूको यस्तो निर्दयीपन देखेर कविहरू निकै दुखी भए ।
‘अब के गर्ने ?’ कविहरूले विचार गरे, ‘आखिर हामीलाई सरदारकै साथी (कार्यकर्ता)हरूले किन लुटे ? यो गुनासो लिएर सरदारकहाँ जाऔं ।’
सबै कविहरू फेरि डाँकुको खेमामा फर्किए । आफू लुटिएको सारा वृत्तान्त सरदारलाई सुनाए । ‘यो त सरासर अन्याय हो,’ कविहरूले स्वर खापेर भने, ‘आफैँले दिएको पुरस्कार खोस्नु ठूलो अधर्म हो ।’
कविहरूले सम्झिए, सर्पले भन्छ म कसम खान्छु आजदेखि कसैलाई टोक्दिनँ । बाघले भन्छ अबदेखि म कहिले हिंसा गर्दिनँ । आगोले भन्छ म अबदेखि पोल्ने काम गर्दिनँ । पानीले भन्छ अब म कसैलाई पनि डुबाउँदिनँ । बिरालोले भन्छ आजदेखि मैले दूध र मासु खान छोडिदिएँ । दुष्ट, पापी, अन्यायी, घमन्डी चरित्र भएका मानिसले अबदेखि म कुकर्म कहिले गर्दिनँ भन्छ भने यस्तो कुरा पत्याउने मान्छेकै गल्ती हो ।
अरू डाँकाहरू कठोर भए पनि सरदार दयालु छन् भन्ने कविहरूलाई विश्वास थियो । कविहरूको दुखेसो सुनेर सरदार एकछिन चुप लागे ।
केहीबेर पछि सरदारले भने, ‘हेर्नुहोस् कवि महोदयहरू ! पारिश्रमिक दिन्छु भनेर बोलाएपछि पुरस्कार र सम्मान दिनु हाम्रो कर्तव्य थियो । तर लुट्नु हाम्रो व्यापार हो । जसरी कविता लेख्नु कविको धर्म हो, त्यसैगरी डकैती गर्नु डाँकाको धर्म हो । यस्तोमा अब म के गर्न सक्छु ?’
डाँकाको सरदारबाट यस्तो शास्त्रसम्मत कुरा सुनेपछि बल्ल कविहरूको चेत खुल्यो । उनीहरूलाई चेतना भयो कि दुष्ट प्रवृत्ति भएका मानिसहरूप्रति कहिल्यै विश्वास गर्नुहुँदैन । कविहरूलाई आफ्नो भुल थाहा भयो ।
कविहरूले सम्झिए, सर्पले भन्छ म कसम खान्छु आजदेखि कसैलाई टोक्दिनँ । बाघले भन्छ अबदेखि म कहिले हिंसा गर्दिनँ । आगोले भन्छ म अबदेखि पोल्ने काम गर्दिनँ । पानीले भन्छ अब म कसैलाई पनि डुबाउँदिनँ । बिरालोले भन्छ आजदेखि मैले दूध र मासु खान छोडिदिएँ । दुष्ट, पापी, अन्यायी, घमन्डी चरित्र भएका मानिसले अबदेखि म कुकर्म कहिले गर्दिनँ भन्छ भने यस्तो कुरा पत्याउने मान्छेकै गल्ती हो ।
सरदारको प्रष्टोक्तिले कविहरू निराश भए । उनीहरूमध्येकै एक जना अलि उमेर खाएका कविले साथीहरूलाई एक छेउमा एकत्रित गरेर सम्झाए, ‘साथीहरू यहाँ विवाद नगरौं । यस्ता कुकर्म गरेर रमाएका मानिसहरूबाट न्याय हुने अपेक्षा गर्नु बेकार छ । यस्ता अधर्मीहरूको क्षेत्रमा अहिलेसम्म बाँच्न पाउनु नै ठूलो पुरस्कार हो ।’
मूर्ख र अधर्मीहरूका सामु नीतिका कुरा, तर्कविर्तक गर्नु बेकार भएकोमा सबै कविहरू सहमत भए र चुपचाप बाटो लागे ।
कविहरू फर्किंदै गर्दा निकै परसम्म डाँकाहरू हाँसेको, खुसी हुँदै थाल–टिन ठटाएको आवाज सुनिँदै थियो ।
…
अहिले समाजमा, गाउँ–नगर, देशमा राजनीतिका नाममा जे भइरहेको छ, जे भोग्नु परिरहेको छ, त्यो सन्दर्भमा यो कथा कहिले पुरानो हुँदैन ।