Rumpum Advertisement

विराटनगरको तरकारी बजारमा मूल्यसूची छैन

पसलैपिच्छे तरकारीको मूल्य फरक

विराटनगरको तरकारी बजारमा मूल्यसूची छैनपसलैपिच्छे तरकारीको मूल्य फरक

मोहन ढकाल

विराटनगर/विराटनगरको गुद्री बजारमा तरकारीको मूल्य पसलअनुसार फरक–फरक पाइएको छ । उपभोक्ताले तरकारीको मूल्यमा एकरुपता नभएको भन्ने गुनासो गरेपछि कोसी अनलाइनको टिम पुगेर बुझ्दा यस्तो पाइएको छ । गुद्रीमा हरियो तथा सुकेको एउटै तरकारीको मूल्य पसलअनुसार फरक पर्ने गरेको छ ।

गाँजर प्रतिकेजी एक सय रुपैँयादेखि एक सय ४० रुपैयाँसम्ममा बेच्ने गरको पाइएको छ । कुनै पसलमा एक सय, कुनैमा एक सय २० र कुनैमा त्यही गाँजर एक सय ४० सम्ममा बेच्ने गरेको पाइएको छ । यस्तै नयाँ रातो आलुको प्रतिकेजी ६० देखि ७५ सम्म पर्ने गरेको छ । एउटै आलुको मूल्य एकै ठाउँका पसलमा ६०, ७० र ७५ सम्म पर्ने गरेको छ । यस्तै सेतो आलुको मूल्य पनि फरक–फरक पाइएको छ । सेतो आलुको प्रतिकेजी ५० देखि ६० सम्म पर्ने गरेको छ । टमाटरको मूल्य कतै ७० पर्छ भने कतै ८० सम्म पर्ने गरेको छ ।

प्याजमा पनि फरक–फरक मूल्य लिएको पाइएको छ । एउटै प्याजको मूल्य प्रतिकेजी ९० देखि एक सयसम्म पर्ने गरेको छ । एउटै अदुवा प्रतिकेजी ६०, ८० र एक सयसम्म पर्ने गरेको छ । हरियो खुर्सानी एक सयदेखि एक सय २० सम्म पर्ने गरेको छ ।

त्यस्तै फूलकोबीको प्रतिकेजी २० देखि ४० रुपैयाँसम्म लिने गरेको पाइएको छ । बन्दाकोबीको प्रतिकेजी ३० देखि ५० सम्म लिने गरेको पाइएको छ । यस्तै चाइनिज लसुनको प्रतिकेजी एक सय ७० देखि दुई सयसम्म लिएको पाइन्छ । एउटै लसुनको एउटा पसलले प्रतिकेजी एक सय ७० लिने गरेको छ भने अर्कोले दुई सय लिने गरेको छ ।

स्कुस ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा बेच्ने गरेका छन् भने ७० देखि ८० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । काँक्रा प्रतिकेजी ४० देखि ८० सम्ममा बेच्ने गरेका छन् । बैगुन, हरियो सिमी, करेला, भिन्डीको मूल्य पनि फरक–फरक पाइएको छ । बैगुनको प्रतिकेजी ३० देखि ४०, हरियो सिमी प्रतिकेजी एक सय ५० देखि एक सय ६०, करेला प्रतिकेजी ७० देखि ८० साथै भिन्डी प्रतिकेजी ७० देखि ८० सम्म लिने गरेको पाइन्छ । परवल प्रतिकेजी ९० देखि ९५ सम्ममा बेच्ने गरेका छन् । मुला प्रतिकेजी २० देखि ३० रुपैयाँ पर्ने गरेको छ ।

एउटै तरकारीको मूल्य पसलपिच्छे फरक पर्दा उपभोक्ता ठगिएका छन् । बिक्रेताले अनिवार्य मूल्यसूची कायम गर्नुपर्ने हुन्छ । तर विराटनगरका मुख्य तरकारी बजारमा मूल्यसूचीविना नै तरकारी बिक्री–वितरण भइरहेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिक्रेताले मूल्यसूची कायम नगरेको खण्डमा कानुनबमोजिम ५० हजारदेखि एक लाखसम्म जरिवाना गरिने व्यवस्था छ । तर नियमित बजार अनुगमन हुन नसक्दा उपभोक्ता कालोबजारीको मारमा पर्ने गरेका छन् । देखावटी रुपमा हुने बजार अनुगमनका कारण कालोबजारी गर्नेलाई हौसला थपिएको उपभोक्ता कृष्ण माझीले बताए ।