Rumpum Advertisement

एकछाक कलौको मूल्यमा

एकछाक कलौको मूल्यमा
सरोज बराल

तिम्रो,
नितान्त तिम्रो
यो देशको होइन
जनताको होइन
फगत तिम्रो मन्त्री
मात्र उसको सवारीमा
पछिपछि कुद्ने गर्दा
तिमीले पाउने
एकछाक कलौका लागि
मान्छे भेला गथ्र्यौ
तिमीलाई पो पर्नु पिर पर्‍यो होला त !
मलाई के चासो त्यसको ?

जसरी मलाई रोग लाग्दा
मलाई भोक लाग्दा
मलाई शोक लाग्दा
तिम्रो मन्त्रीलाई
फरक परेको छैन क्यारे
न त्यसले मलाई
‘गेट वेल सुन’ भन्छ
न म मरेँ भने
श्रद्धाञ्जली दिन्छ
त्यस्ता डुकुलठ्ठकलाई
कोरोना लागोस् कि क्यान्सर
मलाई के मतलब ?

मान्छे मर्दा समवेदना भन्नलाई
बिरामी परेकोलाई ठिक होस्
यतिमात्र भन्नलाई
मानवीय सम्वेदना देखाउनलाई
मान्छे भएर देखाउन नसक्नेले
आफूलाई किन मान्छे भन्नु ?
आफूलाई किन मान्छे ठान्नु ?
यही भन्छौ होला तिमीले मलाई ।
तर त्यही तिम्रो मन्त्रीले
मभित्रको मान्छे मारेर
मलाई संवेगहीन बनाउँदा
तिमी कहिले बोल्यौ ?
कहिले ‘गेट वेल सुन’ भन्यौ ?

मभित्रको मान्छे मरेको छ
मभित्रको संवेग मरेको छ
त्यसैले–
तिम्रो मन्त्रीलाई अझ घातक रोग लागोस्
उसको उपचारदेखि
सदगद गर्दासमेतको खर्च व्यहोर्ने
मेरो देश छँदैछ ।

तिमी फिक्री नगर
उसको सुद्ध्याइँमा
तिमीले घर लाने गरी खानेकुरा पाउँछौ ।
तिम्रो छाडा राँगोजस्तो मन्त्री
मेरो लागि त
मरेकै ठिक छ ।