birat ribon

लकडाउनमा हराएका भिखारी बिस्तारै देखिन थाले

Neuro
लकडाउनमा हराएका भिखारी बिस्तारै देखिन थाले

मोहन ढकाल

विराटनगर/विराटनगरमा भिखारीहरुको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन गरिएको अवधिमा फाट्टफुट्ट देखिने भिखारीहरु आजभोलि थपिँदै गएका छन् ।

cura insider

विराटनगरका बजार–पसलमा माग्न आउने भिखारीको ठूलो हिस्सा भारतीयले ओगटेका छन् । भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नेपाली बजारमा आएर माग्ने भारतीय नागरिकको सङ्ख्या उच्च छ । तर आजभोलि भारतीय मगन्तेहरु कम भएका छन् । लकडाउनसँगै हराएका उनीहरु अहिले पनि खासै देखिँदैनन् ।

तर, स्थानीय मगन्तेहरुको सङ्ख्या बढ्दै गएको छ । यसरी मागेर गुजारा चलाउनेमा कतिपय घर परिवारबाट एक्लिएका र बेसहारा बनेका बढी छन् । लकडाउनका बेला जसोतसो गुजारा गरेका उनीहरु बजारमा चहलपहल बढ्न थालेपछि दैनिक देखा पर्न थालेका छन् । यसरी माग्दै हिँड्नेहरु बजार–पसल, मन्दिर र घरघरमा जाने गरेका छन् । उनीहरु दैनिक घुमिरहेका हुन्छन् । कोरोनाको त्रास र लकडाउनका बेला गाउँघरतिरै मागेर गुजारा चलाउने गरेको उनीहरु बताउँछन् ।

पछिल्लो समय बजारमा चहलपहल बढ्न थालेसँगै भिखारीहरुको चहलपहल बढ्न थालेको छ । मन्दिरमा पनि आजभोलि भिखारीको चहलपहल बढ्दो छ । विराटनगरका काली मन्दिर, शनि मन्दिर, राधाकृष्ण मन्दिर लगायतका मन्दिरहरुमा विशेष दिन भिखारीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । त्योबाहेक बजार, पसल र घरघरमा पुगेर माग्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

मोरङको कटहरी गाउँपालिकाका जिलेविया मुखिया राधाकृष्ण मन्दिरअगाडि केही पाउने आसमा बसिरहेका हुन्छन् । उमेरले ७० वर्ष पुगेका उनले भने, परिवारले बेवास्ता गरेपछि मागेर गुजारा चलाइरहेको छु । नमागौँ भने भोकै बस्नुपर्ने बाध्यता हुन्छ । उनी कहिले मन्दिरअगाडि बसेर माग्छन् भने कहिले घरघरमा समेत पुग्ने गरेका छन् ।

उनले भने, ‘बाँच्नु त पर्‍यो, त्यसैले माग्न हिँडेको छु । काम गर्न सक्दिन ।’ बुढेसकालमा बेसहारा भएपछि मागेर जसोतसो जुगारा गरिरहेको उनले सुनाए । लकडाउनका बेला छरछिमेकमै मागेर जसोतसो गुजारा गरेका उनले बजारमा चहलपहल बढ्न थालेपछि प्रायः मन्दिरछेउमा बस्ने गरेको सुनाए ।

विभिन्न कारणले मागेर गुजारा चलाउने भिखारीहरु जाडो मौसममा पनि कसैले केही दिने आसमा चिसो भुइँलाई सहारा बनाएर बसिरहेका छन् । विराटनगरको काली मन्दिर अगाडि बिहानको समयमा ९ जना भिखारी बसेका छन् । उनीहरु चिसो भुइँमा बसेर पनि बाँच्नको लागि सङ्घर्ष गरिरहेका छन् ।

लकडाउनसँगै हराएका भिखारीहरु लकडाउन खुलेपछि एक–दुई जना देखिन्थे तर बजारमा चहलपहल बढ्न थालेपछि सङ्ख्या बढ्दै गएको विराटनगरको रङ्गेली रोडमा व्यवसाय गर्दै आएका आरिफ इराकीले बताए । भिखारीको सङ्ख्या दिनहुँ बढे पनि आइतबार र शुक्रबार भने धेरै आउने गरेको उनले बताए ।

उनले भने, ‘पहिलाको तुलनामा कम छन्, तर आइतबार र शुक्रबार १५ जनासम्म आउँछन् । पहिला दैनिक २० जनासम्म पनि आउने गरेका थिए । उनले भने, ‘अहिले भारतबाट आउने माग्नेहरु देखिँदैनन् । त्यसैले पहिलाको तुलनामा कम आउने गरेका छन् । अहिले विराटनगर वरिपरिकै माग्नेहरु मात्र आउँछन् ।’

jackson ribon