विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई टीम अबुधाबीले नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको छ । शुक्रबार टि–१० लिगका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको हो ।
नयाँ भूमिका पाएपछि पारसले आफू उत्साहित भएको बताएका छन् । शनिबार ट्वीट गर्दै उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताए । ‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु ।’ उनले लेखेका छन् ‘ टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’
उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए । पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।
चौथो संस्करणको टी(१० लिग युएईमा जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ ।