Rumpum Advertisement

कोरोना सङ्क्रमण मुक्त भएपनि देखिरहेका छन् यस्ता समस्या

Neuro
कोरोना सङ्क्रमण मुक्त भएपनि देखिरहेका छन् यस्ता समस्या

विराटनगर / कोरोना सङ्क्रमितमा विभिन्न जटिलता देखिएका छन् । ज्वरो, घाँटी दुखाइ, थकाइसँगै जटिल लक्षण देखिएका हुन् ।

कोरोना सङ्क्रमण १४ देखि २० दिनमा निको हुने बताइन्छ । तर, निको भएकामा पनि विभिन्न प्रकारको समस्या देखापरेको छ । पाँच मध्ये एक सङ्क्रमितलाई पोस्ट कोभिड वा दिर्घ कोभिडको समस्या देखिएको हो ।

कोरोनाले मानव मस्तिष्कलाई १० वर्ष बुढो गराउन सक्ने बताइएकाे छ । स्नायु र संज्ञानात्मक समस्या निम्त्याएर मानसिक रोगको सम्भावना बढाउँछ ।

कोभिड निको भइसकेका बिरामीमा पनि तनाव, चिन्ता, प्रलोभन, भ्रम, रिस, अनिद्रा जस्ता समस्या देख्न सकिन्छ ।

कोभिडले पुरुषको तुलनामा महिलालाई कम असर गरेपनि जीवनमा विभिन्न खतरा निम्त्याउन सक्छ ।

दिर्घ कोभिडका कारण प्रजनन उमेरका महिलाहरूमा बाझोपन र हार्मोनल समस्याहरू निम्त्याउन सक्ने बताइएको छ । महिलाहरूका साथै पुरुषहरूमा पनि कोरोना सङ्क्रमणले यौन र प्रजनन परिवर्तन ल्याउन सक्छ । भाइरसले अप्रत्यक्ष रूपमा विर्य उत्पादन गर्ने ग्रन्थीमा असर गर्न सक्छ । जसले यौन इच्छामा कमी, यौन समस्या, इरेक्टाइल डिसफङ्क्शन, इन्फर्टिलिटी निम्त्याउँन सक्छ ।

शरीरमा रक्त प्रवाह कम हुने, स्ट्रोक तथा हार्ट अट्याकको जोखिम हुन सक्छ । मुटु, फोक्सो र अन्य महत्त्वपूर्ण अङ्गहरूलाई असर गर्न सक्छ ।

कोभिडको समस्या निको भएपनि थकान, सुस्तता, माङ्सपेशी दुख्ने, शरीरको दुखाइ, सास फेर्न समस्या हुने, गम्भीर कमजोरी जस्ता लक्षण देखिने गरेको छ । दिर्घ रोगको समस्या भएकालाई मात्र नभई दिर्घ कोभिडको समस्याले ६–७ वर्षको बच्चालाई समेत असर गर्न सक्छ ।

बालबालिकामा पेट सम्बन्धी समस्या, सुस्त खोकी, श्वासप्रश्वासको समस्या, माङ्सपेशीको दुखाई, रिङ्गटा लाग्ने समस्या देखिएको छ ।