Rumpum Advertisement

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे लेखा समितिकाे ठहर, मन्त्री भन्छन् ‘मेरो संलग्नता छैन’

अख्तियारलाई छानबिन गर्न पत्र

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे लेखा समितिकाे ठहर, मन्त्री भन्छन् ‘मेरो संलग्नता छैन’अख्तियारलाई छानबिन गर्न पत्र

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको बताउँदै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

समितिको शुक्रबार सिङ्हदरबारमा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो ।

बैठककाे निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले कारबाहीका लागि पत्र पठाउने निर्णय भएको बताए ।

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो । तर मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् ।

स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो सङ्लग्नता नरहेको बताउँदै उनले आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीविरुद्ध सहजीकरण गर्ने सन्दर्भमा नीतिगत विषयमा सहमति जनाएको बताए ।

‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता रहेन,’ उनले भने ‘नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु ।’