Rumpum Advertisement

मास्क पुन: प्रयोग गर्नु जोखिमपूर्ण

मास्क पुन: प्रयोग गर्नु जोखिमपूर्ण

विराटनगर । कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि मास्क उत्तम तरिका हो । राम्रो गुणस्तरको मास्कले ७० प्रतिशतसम्म सङ्क्रमण हुनसक्ने सम्भावनालाई कम गर्न सक्छ ।

साथै, अन्य रोग फैलाउने जीवाणुको प्रसारलाई पनि रोक्न सक्छ । सर्जिकल मास्क सङ्क्रमण रोक्नका लागि अत्यन्त उपयोगी देखिन्छ । साथै, पुनः प्रयोग गर्नसक्ने कपडाको मास्क पनि धेरै मानिसहरूले प्रयोग गर्दै आएका छन् ।

आर्थिक र वातावरणीय रूपमा पुनः प्रयोग गर्न सकिने कपडाको मास्क एक राम्रो विकल्प बन्न सक्छ । तर, धेरै पटक एउटै मास्क प्रयोग गर्नाले कोभिड सङ्क्रमणको जोखिम न्यूनीकरण हुन सक्छ ? यो प्रश्न सायद धेरैले सोच्दै पनि आएका होलान् ।

एउटै मास्कको अत्याधिक प्रयोगले सङ्क्रमणबाट बचाउनभन्दा पनि स्थितिलाई झन् खराब बनाई जोखिम उत्पन्न गराउन सक्छ । अन्वेषकहरूका अनुसार सर्जिकल मास्कको पुनः प्रयोग गर्न नहुने कारण भनेको यसको कपडा र आकार हो । बारम्बार प्रयोग र एक्सपोजरपछि मास्कको मूल आकार परिवर्तन हुँदै जान्छ ।

मास्कमा प्रयोग गरिएको कपडा पनि, समय बित्दै जाँदा असुरक्षित र कम प्रभावकारी हुँदै जान्छ । कम्प्युटर मोडेल प्रयोग गरेर गरिएको अध्ययनमा वैज्ञानिकहरूले मास्कको कपडाले मुख र नाकका प्वालमा हावा पस्ने ठाउँ परिवर्तन गर्नुका साथै, मास्कको प्रकार र अवस्थाले पनि सङ्क्रमण जोखिमलाई असर गर्ने पत्ता लगाएका थिए ।

नयाँ, ताजा मास्कले सबैभन्दा अधिक सुरक्षा र दक्षता प्रदान गर्छ । पहिले नै प्रयोग गरिएको मास्कले ६० प्रतिशतभन्दा कम भाइरस र अन्य कणलाई फिल्टर गर्दै कम सुरक्षा प्रदान गर्छ ।

पटक पटक पुन प्रयोग गरिएको मास्कले कुनै पनि प्रकारको सुरक्षा प्रदान गर्दैन । मास्कको प्रयोग नगर्दाभन्दा पनि पटकपटक एउटै मास्कको प्रयोग गर्नु थप हानिकारक हुनसक्छ ।

त्यसैले, एउटै मास्क पटकपटक प्रयोग गर्नु, आकार र अवस्थामा परिवर्तन आएको मास्क, प्वाल परेको मास्क, फोहोर मास्कको प्रयोग नगर्न सुझाइएको छ ।