Rumpum Advertisement

जाडोमा लामो समयसम्म ननुहाउनाले निम्तिन्छन् यस्ता समस्या

जाडोमा लामो समयसम्म ननुहाउनाले निम्तिन्छन् यस्ता समस्या

विराटनगर । जाडो बढेसँगै मानिसहरू नुहाउन पनि कम गर्दै जान्छन् । चिसोका कारण हप्तामा दुई पटक नुहाउनेदेखि लिएर महिनौँसम्म ननुहाउने पनि गरेको पाइन्छ । तर, लामो समयसम्म ननुहाउनाले छालामा विभिन्न समस्याहरू निम्तन् सक्छ ।

शरीरबाट गन्ध आउने, लुतो, पिम्पल्स तथा छालाको समस्या थप बिग्रिने, छालाको सङ्क्रमण तथा विभिन्न समस्याहरू शरीरमा हुन सक्छ । जाडोमा फोहोरका कारण सबैभन्दा धेरै देखिने सामान्य समस्या भनेको लुतो हो ।

सरसफाइमा ध्यान नदिएका कारण भएको लुतो एक जनाबाट परिवारका अन्य सदस्यमा समेत फैलिने गर्छ । पसिनाका कारण मात्र हुने फङ्गल इन्फेक्सन तथा दाद जाडोमा समेत देखापर्ने हुन्छ ।

यो पनि सरसफाइमा ध्यान नदिएको कारणले नै गर्दा हुने गर्छ । साथै, जाडोमा धेरै तेल लगाउने गर्दा तेलको तह बढ्दै जाँदा तेल जमेर सङ्क्रमण समेत हुन सक्छ ।

दिनभरमा मानिसहरू किटाणुबाट सङ्क्रमित फोन, किबोर्ड वा सार्वजनिक यातायातलगायत विभिन्न सतहसँगको सम्पर्कमा आउने हुन्छन् । हातको माध्यमबाट यी कीटाणु शरीरको विभिन्न भागहरूमा पुग्ने गर्छ र कुनै पनि घाउ वा छाला काटिएको ठाउँबाट रक्त प्रवाहमा समेत प्रवेश गर्न सक्छन्, जसले शरीरकाई कमजोर बनाई सङ्क्रमणको शिकार बनाउने गर्छ ।

लामो समयसम्म ननुहाउनाले ब्याक्टेरिया वा फङ्गल सङ्क्रमणको समस्या हुने सम्भावना पनि बढेर जान्छ । लामो समयसम्म ननुहाउनाले पसिना र मृत छाला कोषहरू शरीरमा जम्मा हुन्छन् । यसले छालाको समस्याबाट पीडितहरूको अवस्था थप बिगार्न सक्छ ।

नियमित नुहाउहुँदा फोलिकुलिटिस पनि हुन सक्छ, जसले कपालको जरामा समस्या निम्त्याउँछ । छालामा पसिना र फोहोर मिसिएर छालाको रङ्ग परिवर्तन गरि दागको विकास गर्न सक्छन् ।

पसिनाको आफैँमा गन्ध हुँदैन । तर, बारम्बार पसिना आउने ठाउँ (विशेषगरी काखी), मोजा र जुत्ता लगाएपछि खुट्टा सफा नगरेमा शरीरमा आउने दुर्गन्धको कारण बन्न सक्छ । छाला र कपालमा भएको ब्याक्टेरियाले प्रोटिन र फ्याट्टी एसिडलाई मेटाबोलाइज गर्दा तिनीहरूले एक अप्रिय गन्ध उत्पादन गर्छन् । यस्तो गन्धबाट छुट्कारा पाउनका लागि जाडोमा पनि नियमित नुहाउन आवश्यक हुन्छ ।

लामो समय ननुहाउनाले मृत छाला कोष र ब्याक्टेरियाको सञ्चय हुँदै जाँदा छाला चिलाउने समस्या हुनसक्छ । चिलाउँदै जाँदा छालाको सतहसमेत घाउ हुनेगरी चिलाएमा हानिकारक ब्याक्टेरिया रक्त प्रवाहमा प्रवेशसमेत गर्न सक्छन् । नियमित नुहाउनाले शरीरको स्वच्छताको ख्याल राख्नुका साथै यसले दिनभरिका लागि उत्साहित र ताजा अनुभव गराउँछ ।

लामो समयसम्म ननुहाउनाले ऊर्जास्तर घट्दै जाने हुन्छ भने यसले मानिसलाई अल्छी बनाइरहेको हुन् । नियमित नुहाउनाले मानिसलाई बढी आत्मविश्वासी बनाई, राम्रो र सुन्दर अनुभव गराउँछ । अत्याधिक शारीरिक गतिविधिमा संलग्न काम गर्नेहरू, फोहोर तथा प्रदूषकसँग लगातार सम्पर्कमा रहने वा स्वास्थ्य सेवामा काम गर्नेहरूले दैनिक नुहाउनुपर्ने हुन्छ । अन्य मानिसले भने जाडोको समयमा हप्तामा तीन पटकसम्म नुहाउनुपर्ने हुन्छ ।