Rumpum Advertisement

कोरोना महामारीका बाबजुत पनि पावर लिफ्टिङमा नेपालको सफलता

Neuro
कोरोना महामारीका बाबजुत पनि पावर लिफ्टिङमा नेपालको सफलता

कास्की । पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्ष अघिदेखि नै भारतमा तय भएको ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’का लागि अभ्यास सुरु गरेका थिए । भारतको गुहाटीमा अघिल्लो वर्षको मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगित भयो ।

पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन ।

डिसेम्बर ४ देखि ७ तारिखसम्म भारतको महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त भए तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खाने बस्ने सुविधा आयोजकको भए पनि आउने–जाने खर्च स्थलमार्गबाट जाँदा नै रु तीन लाख खर्च हुन्थ्यो ।

डेढ वर्षदेखिको परिश्रम खेर जान नदिन खेलाडी आफैँले पैसा जोहो गरेर भए पनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । नेपाल पावर लिफ्टिङ एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत रु एक लाख उपलब्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्बर २ मा प्रतियोगिताका लागि प्रस्थान गरे ।

नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुशी ल्याउन सफल भएका छन् ।

नेपाली खेलाडीले २१ औँ संस्करणको वल्र्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरोनाले अप्ठेरो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् ।

कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नुपर्दछ भन्नेमा आफूहरू सबै दृढ रहेको बताउँदै च्याम्पियनसीपमा सिनियरतर्फ ८२ दशमलव ५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाएका गुरुङले भने, ‘आर्थिकलगायत समस्या झेलेर भए पनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झण्डा फहराउन पाउँदा खुशीको सीमा रहेन ।’

पावर लिफ्टिङ च्याम्पियनसीपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी भएका थिए । हसनसहित जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुमिन् । सिनियरतर्फ १०० केजीमा राजेश सुवालले रजत पदक जित्न सफल भएका थिए ।