Rumpum Advertisement

सरकारले भूमिहीनहरूका लागि लालपुर्जा वितरण गर्ने

Neuro
सरकारले भूमिहीनहरूका लागि लालपुर्जा वितरण गर्ने

काठमाडौं । सरकारले भूमिहीनहरूका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।

लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण पनि यसै वर्षदेखि भूमिहीनहरूलाई लालपुर्जा वितरणको कार्य सुरु गर्न सकिने आयोगको दावी छ । सुदूरपश्चिम प्रदेशका भूमिहीन नागरिकलाई लालपुर्जा वितरणको गृहकार्य सुरु भएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ वटा स्थानीय तहसँग सम्झौता गरी काम अघि बढाएको हो । सरकारले एक सय वटा पालिकामा भूमि ब्यवस्थासम्बन्धी काम गर्न निर्देशन दिएको भएपनि स्थानीय तहहरूको तत्परताका कारण १ सय ८७ पालिकासँग सम्झौता गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए ।

बिहीबार आयोगका अध्यक्ष ज्ञवाली र सुदूरपश्चिमका १५ वटा स्थानीय तहबीच भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसअघि दुईटा स्थानीय तहसँग सम्झौता भइसकेको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेपछि स्थानीय तहका प्रमुखहरुले भूमिसम्बन्धी समस्या समाधान गर्न आफूहरू तत्पर रहेको बताएका छन् ।