विराटनगर । इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर सन हिउङ मिनलाई फिफाले पुस्कास अवार्ड प्रदान गरेको छ । बिहीबार राति स्वीट्जरल्याण्डको जुरिचमा दक्षिण कोरियाली स्टार हिउङलाई पुस्कास अवार्ड दिइएको हो ।
वर्षभरिमध्येबाट छनोट गरिएको एक उत्कृष्ट गोललाई यो प्रतिष्ठित अवार्ड दिइन्छ । फिफाले सन् २००९ देखि पुस्कास अवार्ड निरन्तर दिँदै आइरहेको छ ।
रियल मड्रिडका पूर्वफरवार्ड फेरेंक पुस्कासको नाममा यो अवार्ड वार्षिक रूपमा फिफाले प्रदान गर्दै आएको हो । पुस्कासको सन् २००६ को नोभेम्बरमा ७९ वर्षको उमेरमा निधन भएको थियो ।
यस अवार्डका लागि एथ्लेटिको मड्रिडका स्टार लुइस स्वारेज र ब्राजिलियन क्लब फ्लेमेङ्गोका जर्जियन डी आरास्काइटा पनि मनोनित थिए ।
तर, सनले दुवैजनालाई उछिन्दै यो अवार्ड जिते । अघिल्लो सिजनमा इङ्गलिस प्रिमियर लिगअन्तर्गत बर्नलीविरुद्धको शानदार सोलो गोलले सनलाई यो प्रतिष्ठित अवार्ड दिलाउन सफल भएको हो ।
७ डिसेम्बरमा सनले आफ्नो गोलपोष्ट नजिकको बक्सबाट एक्लैले बल अघि बढाउँदै बर्नलीका डिफेन्डरहरूलाई छक्याउँदै विपक्षीको पोष्टमा शानदार र सुन्दर सोलो गर्न सफल भएका थिए ।
यस्तै फिफाले जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई वर्ष खेलाडी घोषित गरेको थियो । लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फिफा द बेस्टको अवार्ड जित्न सफल भएका हुन् ।
लेवान्डोस्कीले अघिल्लो सिजन जर्मन जायन्ट बायर्नलाई ट्रिबल उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । ३२ वर्षीय लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका थिए । उनले घरेलु लिग र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुँदै सिजनको अन्त्य गरेका थिए ।
यसैगरी म्यानेचस्टर सिटीकी डिफेन्ड लुसी ब्रुन्ज महिलातर्फको वर्ष खेलाडी घोषित भइन् ।