Rumpum Advertisement

सप्तरीमा आगलागीबाट वृद्धको मृत्यु

Neuro
सप्तरीमा आगलागीबाट वृद्धको मृत्यु

राजविराज । सप्तरीमा आगलागीबाट एक वृद्धको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियमा शुक्रबार बिहान भएको आगलागीबाट ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहका अनुसार बिहान करिब ४ बजेको समयमा विद्युत सर्ट भएर गोठ घरमा आगलागीमा परेर उनको मृत्यु भएको हो ।

आगलागी भएको बेला यादव गोठ घरमै सुतिरहेका थिए । अचानक आगलागी भएपछि यादव भाग्न नसकेर र आगो निकै सल्किएको कारण बचाउन प्रयास गर्दा पनि नसकेर जलेको पीडित परिवारले बताएको छ ।

घटनास्थलसहित मृतक शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए ।

सो आगलागीमा करिब एक लाख मूल्य बराबरको सम्पति जलेर नष्ट भएको बताइएको छ । नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।