Rumpum Advertisement

वर्ष खेलाडीको अवार्डबाट बञ्चित भएपछि निराश रोनाल्डो

वर्ष खेलाडीको अवार्डबाट बञ्चित भएपछि निराश रोनाल्डो

विराटनगर । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्ना समर्थक गुमाउने पक्षमा रहँदैनन् । र, यो कुरा फिफा द बेस्ट अवार्ड २०२० अवार्ड समारोहका क्रममा पुनः देखिएको छ ।

इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो वर्ष खेलाडी २०२० को अवार्ड जित्नबाट बञ्चित भए । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई उछिन्दै पहिलोपल्ट फिफा द बेस्टको अवार्ड हात पारे ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट छुट्टिएर दुई वर्षअघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

लेवान्डोस्कीले अघिल्लो सिजन जर्मन जायन्ट बायर्नलाई ट्रिबल उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । ३२ वर्षीय लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका थिए । उनले घरेलु लिग र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुँदै सिजनको अन्त्य गरेका थिए ।

बिहीबार राति स्वीट्जरल्याण्डको जुरिचमा भर्चुअलको माध्यमबाट पोल्याण्डका स्टारलाई वर्ष खेलाडी घोषणा गरेको हो । जसमा, भर्चुअल रूपमा मेस्सी र रोनाल्डोलाई राखिएको थियो । लेवान्डोस्कीको सहभागिता भने प्रत्यक्ष रूपमा रहेको थियो ।

सो क्रममा लेवान्डोस्कीलाई विजेता घोषण गर्दा रोनाल्डो निराश बनेको स्पेनिस मिडियाहरूले खबर प्रकाशन गरेका छन् । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो अर्का प्रतिस्पर्धी मेस्सीको तुलना निराश देखिएका थिए । खबरका अनुसार उनको शारीरिक भाषाले पनि यसलाई दुरुस्तै देखाएको थियो ।

सुरुआती दुई चरण २०१६ र २०१७ मा लागातार यो अवार्ड जितेका रोनाल्डो २०१८ मा दोस्रो तथा २०१९ मा तेस्रो भएका थिए । यो वर्ष उनी दोस्रा भए ।