Rumpum Advertisement

मोरङ-सुनसरीमा बढ्यो उखु खेती, किसान भन्छन्, ‘मिलले झमेला गरेको छैन’

मोरङ-सुनसरीमा बढ्यो उखु खेती, किसान भन्छन्, ‘मिलले झमेला गरेको छैन’

विराटनगर । मोरङ सुनसरीमा उखु खेती बढेको छ । उखु मिलले समयमा नै भुक्तानी गर्न थालेपछि सुनसरी मोरङमा गत वर्षकाे तुलनामा करिब १० प्रतिशत खेती बढेको हो । याे सिजनमा चार हजार ६ सय बिघामा उखु खेती भएकाे छ ।

उखु मिलले भुक्तानी नगरेको भन्दै प्रदेश २ का कृषक आइतबारयता काठमाडौँमा आन्दोलनरत छन् । प्रदेश १ को एकमात्र उखु मिल इस्टर्न सुगर मिल्सले समयमा नै भुक्तानी दिएका कारण आन्दोलन गर्नुपर्ने अवस्था नरहेको किसानले बताएका छन् ।

उखु किसान परमानन्द यादवका अनुसार दुई वर्षयता किसानलाई उखु मिलले गर्ने व्यवहार राम्रो छ । दुई वर्षअघिसम्म उखुको भुक्तानी लिन आन्दोलन गर्नुपर्ने अवस्था थियो । तर मिलले समयमा नै भुक्तानी दिन थालेपछि उखु खेती पनि बढेको छ । ‘मिलले समयमा नै भुक्तानी गर्न थालेका कारण उखु खेती बढेको छ,’ उनले भने, ‘भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था छैन ।’

उखु किसान सत्यनारायण शर्मा खेती थप गर्ने तयारीमा छन् । मिलले समयमा नै भुक्तानी गर्न थालेका कारण खेती थप गर्न लागेको उनले बताए ।

मिलले पछिल्लो समय किसानलाई समयमा नै भुक्तानी गर्न थालेको इस्टर्न सुगर मिल्सका म्यानेजर पवन झाले बताए । किसानले समयमा नै भुक्तानी पाएका कारण खेती बढेको बताउँदै उनले यो पटक उत्पादन पनि बढ्ने बताए । यो सिजनमा किसानले चार हजार ६ सय बिघा क्षेत्रमा उखु खेती लगाएका छन् । झाका अनुसार गत वर्षको तुलनामा करिब १० प्रतिशत उखु खेती बढेको छ ।

गत वर्ष इस्टर्न सुगर मिलले साढे १२ लाख टन उखु क्रसिङ गरेको थियो । यो वर्ष खेती बढेका कारण १४ लाख टन उखु क्रसिङ हुने सम्भावना रहेको झाले बताए ।

इस्टर्न सुगर मिल सञ्चालनमा विराटनगरकाे गोल्छा ग्रुपसँग बिशाल ग्रुप जोडिएपछि किसानले सहज रुपमा भुक्तानी पाउन थालेका हुन् । गोल्छा ग्रुपको स्वामित्वमा रहेको मिलमा २०७२ सालयता बिशाल ग्रुप जोडिएको छ । तुलसीराम अग्रवालको बिशाल ग्रुप र विराटनगरको औद्योगिक घराना गोल्छा ग्रुपका हितेश गोल्छाले मिलमा लगानी गरेका छन् ।