Rumpum Advertisement

पोखरा– मुक्तिनाथ केबलकार : याेजना अनुसार काम भए साढे चार वर्षपछि चढ्न पाइने

Neuro
पोखरा– मुक्तिनाथ केबलकार : याेजना अनुसार काम भए साढे चार वर्षपछि चढ्न पाइने

विराटनगर । पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन सरकारको हातामा परेको छ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको हो ।

योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुक्तिनाथसम्म केबलकारमा जान पाइनेछ । मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।

डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ । प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बा (गोन्डुला)ले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउने छ ।

समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछन् ।

कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाका अनुसार यो यात्रालाई खण्डित रूपमा पनि यात्रुले पूरा गर्न पाउनेछन् ।

करिब एक हजार दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ भने यसमा करिब १३ मेगावाटसम्म विद्युत् खपत हुने खबर अाजकाे गाेरखापत्र दैनिकमा छ ।