Rumpum Advertisement

हलमा खराब प्रतिक्रिया बटुलेको फिल्मलाई युटुबमा पनि गाली बर्सिने डर

हलमा खराब प्रतिक्रिया बटुलेको फिल्मलाई युटुबमा पनि गाली बर्सिने डर

विराटनगर । अहिले युटुबको टप ट्रेन्डिङमा पर्न सफल रहेको फिल्म हो, ‘दाल भात तरकारी’ । कमेडीको प्याकेज भनेर बनाइएको फिल्म गत वर्ष देशभर रिलिज भएको थियो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले निर्माण गरेको फिल्मले हलमा दर्शकको निकै खराब प्रतिक्रिया बटुलेको थियो ।

फिल्म ‘दाल भात तरकारी’ मा अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले जसोतसो बक्सअफिसमा ठिकै व्यापार गरेको थियो तर समीक्षक र दर्शकबाट अत्यन्त कमजोर प्रतिक्रिया बटुलेको थियो ।

यस फिल्म गत साता युटुबमा सार्वजनिक भयो । केही दिनमै फिल्म ट्रेन्डिङमा पर्न पनि सफल भयो र भ्युज पनि राम्रै पायो । तर हलमा खराब प्रतिक्रिया बटुलेको सो फिल्मलाई युटुबमा पनि गाली बर्सिने बुझेर हुनसक्छ निर्माण टिमले युटुबमा कमेन्ट सेक्सन नै बन्द गरिदिएका छन् ।

सुदन केसीको निर्देशन रहेको फिल्ममा मह जोडीसँगै निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, मोहितवंश आचार्य, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरी पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।