Rumpum Advertisement

महानगरका विद्यालयको अनुगमन : स्वास्थ्य मापदण्डको पालना, जोखिम भने कायमै

महानगरका विद्यालयको अनुगमन : स्वास्थ्य मापदण्डको पालना, जोखिम भने कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा आजबाट सञ्चालनमा आएका विद्यालयहरूले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको शिक्षा महाशाखाले अनुगमन गरेको छ ।

महाशाखाले विराटनगरमा बिहीबारबाट सञ्चालनमा आएका विभिन्न ९ वटा विद्यालयहरूको अनुगमन गरेको हो । अनुगमनमा विराटनगर महानगपरपालिकाको शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडा, प्याब्सन विराटनगरका उपाध्यक्ष मोहन बुढाथोकी, अविभावक सङ्घ नेपाल मोरङका अध्यक्ष खगेन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

सङ्क्रमणको जोखिममा रहेको विराटनगर महानगरपालिकामा सञ्चालनमा आएका विद्यालयहरूले अपनाएको सावधानीको अवस्थाको विषयमा अनुगमन गरिएको थियो । अनुगमनमा विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयहरूले बिहान र दिउँसो गरी दुई शत्रमा विद्यालय सञ्चालन गरेका थिए । सञ्चालनमा आएका विद्यालयहरूमा ५० प्रतिशतभन्दा कम विद्यार्थी सहभागिता थियो । सबै विद्यालयले मास्कलाई अनिवार्य गरेका थिए । त्यसगरी सक्ने विद्यालयले सेनिटाइजरको व्यवस्था गरेका थिए भने बाँकीले साबुनमो पानीको व्यवस्था गरेका थिए ।

बिहीबारबाट सञ्चालनमा आएको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले आएका विद्यार्थीलाई मास्क अनिवार्य गरिएको बताए । मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले व्यवस्था गरिहेको उनले जानकारी दिए । उनले विद्यार्थीहरूको लागि साबुनको व्यवस्था गरिएको जानकारी गराए । विद्यालयमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी आएको उनले जानकारी दिए । विद्यालयले जोरविजो कक्षा गरेर सञ्चालन गर्नेगरेको प्राध्यापक पराजुलीले बताए । विद्यालय सञ्चालनपछि बालबालबालिका उत्साहित भएको उनले बताए ।

त्यसैगरी विराटगर संसारी माइस्थानमा रहेको मानु मोरङ आधारभूत विद्यालयले सञ्चालनको लागि अविभावकसँग छलफल गरिरहेको थियो । बाल कल्याण विद्यामन्दिर (विकेभियम) विद्यालयले दुई शत्रमा विद्यालय सञ्चालन गरिहेको छ । विद्यालय आउने विद्यार्थीहरूलाई थर्मल गन प्रयोग गरेर तापक्रम नाप्ने गरेको थियो । यस्तै विद्यार्थीलाई सेनिटाइजरको पनि प्रयोग गराइरहेको थियो ।

अनुगमनमा विराटनगर महानगरपालिकाका नगरशिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले स्वास्थ्य मापदण्डहरूको पालना भएको पाइएको बताए । उनले अविभावकसँग छलफल गरेर स्वीकृति लिएर मात्र सञ्चालन गर्नु भनिएपनि धेरै विद्यालयले त्यसो नगरेको पाइएको बताए ।

बन्दको समयमा विद्यार्थीहरू रेडियो टेलिभिजनको पहुँचबाट टाढा रहेको विद्यार्थीबाट बुझिएको उनले बताए । विद्यार्थी सङ्ख्या बढेसँगै चुनौती थपिने भन्दै उनले विद्यालयले आलोपालो गरेर नै चलाउनुपर्ने बताए । उनले अनलाइन कक्षालाई पनि निरन्तरता दिनुपर्ने औंल्याए ।

शिक्षा अधिकारी खतिवडाले विद्यालयलाई कारवाही गर्नेभन्दा पनि तोकिएका मापदण्डहरू पालना गराउन प्रयास गर्ने उनले बताए । उनले अहिलेको अवस्थामा सबैभन्दा बढी दायित्व विद्यालयको भएको बताए । विद्यालय, अविभावक, विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुनुपर्ने उनले बताए ।

कुनै कारणबस सङ्क्रमण देखिएर ९ महिनापछि खुलेको विद्यालय फेरि बन्द गराउनु परे अप्रिय हुने उनले बताए । विद्यार्थीको सङ्ख्या वृद्धि भएसँगै चुनौती थपिने पनि बताए ।

अनुगमनमा सहभागी अविभावक सङ्घ नेपालका मोरङ अध्यक्ष खगेन्द्र भट्टराईले काठमाण्डौलाई हेरेर विराटनगरले विद्यालय सञ्चालनमा ल्याएको भए हुने बताए । उनले काठमाण्डौमा विद्यालय सञ्चालनको सुरसार नभएको बताए ।

विद्यालय सञ्चालनको अव्हान गरेर सरकारले विद्यालय र अविभावक जिम्मेवार हुनु पर्ने भन्न नपाइने बताए । उनले विद्यालय सञ्चालनपछि आइपर्ने सम्पूर्ण कुराको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । उनले भने, ‘सरकारपछि मात्र अन्य सङ्घ–संस्थाले जिम्मेवारी लिन्छन् ।’

प्याब्सन विराटनगरका उपाध्यक्ष मोहन बुढाथोकीले विद्यालयसँग सम्बन्धित सबै क्षेत्र सजग भएर बालबालिका स्वास्थ्यसँगै पठनपाठनलाई अगाडि बढाउनुपर्ने बताए ।