Rumpum Advertisement

उपत्यकाको जोर–बिजोर प्रणाली हट्ने

Neuro
उपत्यकाको जोर–बिजोर प्रणाली हट्ने

काठमाडौँ/काठमाडौं उपत्यकामा लागू भएको जोर–बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सरोकारवालाहरुको छलफलले भोलिबाट जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका सङ्घ–संस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारीसाधन सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो । जोर–बिजोर प्रणालीले सवारीसाधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्यरुपमा पालना गर्दै उनले आग्रह गरे । सवारीसाधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए । उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसहित विभिन्न यातायात मजदुर सङ्गठनले शुक्रबारबाट जोर–बिजार प्रणाली उल्लङ्घन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाडौँका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर–बिजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।