birat ribon

आज वर्ष खेलाडी घोषणा हुँदै

Neuro
आज वर्ष खेलाडी घोषणा हुँदै

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज वर्ष खेलाडीको घोषणा गर्दैछ । ‘फिफा द बेस्ट’को घोषणा स्वीट्जरल्याण्डको जुरिचमा नेपाली समयअनुसार राति पौने १२ बजेबाट सुरु हुनेछ । कोरोना महामारीका कारण यस वर्षको ‘द बेस्ट’ अवार्ड भर्चुअलको माध्यमबाट हुनेछ ।

वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डका लागि तीन शीर्ष उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । वर्ष खेलाडीका लागि अन्तिम तीनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की रहेका छन् ।

cura insider

यस सिजन प्रमुख दाबेदारका रूपमा लेवान्डोस्कीलाई हेरिएको छ । उनी अघिल्लो सिजनको च्याम्पियन्स लिगको उपाधि जिताउन सफल खेलाडी हुन् । यता, पोर्चुगिज स्टार रोनाल्डोले भने युभेन्टसलाई सिरी ‘ए’को उपाधि दिलाउन भूमिका खेलेका थिए । अर्जेन्टिनी स्टार मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट छुट्टिएर दुई वर्षअघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

फिफाले गत वर्षको ३ जुलाईबाट यो वर्षको १५ जुलाईसम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा मनोनयन गरेको हो ।

यस्तै आजै महिलातर्फको पनि वर्ष खेलाडी घोषणा हुँदैछ । महिलातर्फ खेलाडीमा इङ्ग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् ।

पुरुषतर्फ प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप रहेका छन् ।

महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।

गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एथ्लेटिको मड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् ।

महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटेनहमका सन हिउङ मिन, एथ्लेटिकोका लुइस स्वारेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता अन्तिम तीनमा छनोट भएका छन् ।

jackson ribon