Rumpum Advertisement

कोभिडको सङ्क्रमणबाट निको भइरहेको बेला गर्न सकिन्छ यस्ता व्यायाम

कोभिडको सङ्क्रमणबाट निको भइरहेको बेला गर्न सकिन्छ यस्ता व्यायाम

विराटनगर/कोभिडले शरीरलाई कमजोर महसुस गराउनुका साथै यसले मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ ।

शारीरिक गतिविधिमा संलग्न हुनाले शरीरलाई सामान्य महसुस गर्न मद्दत पुर्‍याउनुका साथै निको हुने प्रक्रियालाई पनि छिटो गर्न सक्छ । कोभिडको सङ्क्रमणबाट मुक्त भएर पहिलेभन्दा धेरै राम्रो महसुस हुन थालेमा सामान्य तालिकामा जान सजिन्छ । साथै, पहिलाजस्तो शारीरिक गतिविधिहरूमा संलग्नसमेत हुन सकिन्छ । तर, अत्यधिक र गाह्रो व्यायामले श्वासप्रश्वास प्रणाली र हृदयलाई असर गर्न सक्ने हुँदा व्यायाम गर्दा एकदम ध्यान दिनुपर्ने हुन्छ ।

जामा कार्डियोलोजीमा प्रकाशित अध्ययनअनुसार कोभिडको सङ्क्रमणबाट पीडित भइरहेको बेलामा व्यायाममा संलग्न हुँदा शरीरमा देखिएका लक्षणलाई बिगार्न सक्छ, मुटुको मांसपेशी पोल्ने, सुन्निने आदि जस्ता अन्य रोग पनि निम्त्याउन सक्छ । सक्रिय रहन पनि अति आवश्यक हुने हुँदा अन्य समस्याबाट सुरक्षित रहनका लागि हल्का व्यायाममा संलग्न हुन सकिन्छ ।

हिँड्नु, सजिलोको साथसाथै सुरक्षित व्यायाम हो जुन घरमा गर्न सकिन्छ । विशेष गरी कोभिडको सङ्क्रमणबाट निको भइरहेको बेला शक्ति र फिटनेस बढाउन मद्दत गर्छ । तर, सक्छु भन्दैमा धेरै हिँड्नु पनि हुँदैन । १० देखि १५ मिनेट हिँड्ने गर्दा पनि यो समसमा शरीरलाई धेरै फाइदा पुग्ने गर्छ ।

अर्को सजिलो व्यायाम भनेको सिँढीमा तलमाथि गर्नु हो, जुन घरमा सजिलै आरामसँग गर्न सकिन्छ । यो व्यायामका लागि धेरै उर्जा चाहिँदैन साथै यसले खुट्टाको मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ । अलि धेरै थकित महसुस भएमा कुर्सीमा बसी सामान्य व्यायाम गर्न सकिन्छ । आफू बसेको कुर्सीमा बसी उही स्थानमा मार्च गरेजस्तै खुट्टा हल्लाउन सकिन्छ ।

यसले खुट्टालाई काम गर्न र शरीरको पोस्चर तथा सन्तुलनलाई सुधार गर्छ । विज्ञ र चिकित्सकहरूले कोभिडबाट निको हुँदै गरेकालाई योग र ध्यान गर्न सिफारिस गर्छन् । यसले मानसिकतालाई प्रोत्साहित गर्नुका साथै मानसिक स्वास्थ्य समृद्ध गर्न पनि मद्दत गर्छ । जुन महामारीको समयमा अत्यधिक महत्व देखिन्छ ।