Rumpum Advertisement

जोखिमका बीच खुले विराटनगरका विद्यालय, विद्यार्थी सङ्ख्या कम

जोखिमका बीच खुले विराटनगरका विद्यालय, विद्यार्थी सङ्ख्या कम

विराटनगर/बिहीबारबाट विराटनगरका विद्यालय खुलेका छन् । कोरोना महामारीका कारण नौ महिनायता बन्द रहेका विद्यालय खुलेका हुन् ।

६ चैतयता बन्द भएको विद्यालय खुले पनि पहिलो दिन विद्यार्थी निकै कम आएका छन् । कोरोना सङ्क्रमण जोखिम कायम नै रहेकाले न्यून मात्रामा विद्यार्थी विद्यालय आएका हुन् ।

‘पहिलो दिन हामी विद्यालयको अनुगमनमा छौँ,’ विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले भने, ‘अनुगमनका क्रममा विद्यार्थी निकै कम आएको देखियो ।’ कोरोना महामारीको त्रास कायम नै रहेकाले विद्यार्थीको सङ्ख्या निकै कम देखिएको हो ।

महानगरको शिक्षा समितिले २१ मङ्सिरमा बिहीबारबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट पारित कोभिड–१९ सन्दर्भमा विद्यालयसम्बन्धी कार्य ढाँचा २०७७ को निर्देशिकाअनुसार महानगरले विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो । ‘केही स्कुलमा एउटा बेञ्चमा तीन जनासम्म राखेको पाइयो,’ उनले भने, ‘सुरक्षा सतर्कता अपनाएकै देखियो । तीनजना विद्यार्थी राख्ने विद्यालयलाई छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइयो ।’

महामारीका कारण विद्यालय बन्द भएपछि विराटनगरका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । विद्यालय खुले पनि अनलाइन कक्षा जारी रहनेछ । ‘पहिलो दिन विद्यार्थी कम आएका छन्,’ प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले भने, ‘विस्तारै विद्यार्थी आउने क्रम बढ्छ ।’

नौ महिनायता घरमै बस्न बाध्य भएका विद्यार्थीले विद्यालय आउन पाउँदा उत्साहित देखिएका छन् । पोखरिया माध्यमिक विद्यालयकी विद्यार्थी कृतिका नेपालले विद्यालयमा उपस्थित भएर पढ्न पाउँदा सहज भएको बताइन् । एभरेस्ट बोर्डिङ स्कुलकी छात्रा परिधि पोखरेलले नौ महिनापछि विद्यालय आउन पाउँदा खुसी लागेको बताइन् ।