Rumpum Advertisement

निद्राको अभावमा सुन्दरतामा कमी, बिर्सनेलगायतका समस्या

निद्राको अभावमा सुन्दरतामा कमी, बिर्सनेलगायतका समस्या

विराटनगर/स्वास्थ्य रहनका लागि राम्रो निद्रा धेरै नै महत्वपूर्ण हुन्छ ।

एक स्वस्थ मानिसले दैनिक सातदेखि आठ घण्टासम्म आरामले सुत्नु पर्छ । महिनामा एक–दुई पटक कम सुत्नाले स्वास्थ्यमा खासै असर नगरे पनि निरन्तर कम समय सुत्नाले शरीरलाई हानी पुर्‍याएर विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । निद्राको अभावका कारण स्वास्थ्यमा हुनसक्ने समस्या यस प्रकार छन् ।

लगातार कम सुतिरहेको मानिसको स्मरण शक्तिलाई पनि असर गर्छ । निरन्तर पाँच घण्टाभन्दा कम सुत्ने मानिसको स्मरण शक्ति कमजोर हुँदै जान्छ र साना–साना कुराहरू पनि बिर्सने बानी हुन्छ । निद्रा पूर्ण नभएमा दिमाग पनि थाकेको हुन्छ, जसकारण मानिसको मुड पनि खराब हुन्छ । निद्रामा कमी आएका कारण मुडमा अचानक परिवर्तन आउनुका साथै यसले एक मानिसलाई तनावग्रस्त महसुस गराउन थाल्छ ।

अत्यधिक निद्राको अभावमा मानिस थकित हुनुका साथै बेलाबेला रिँगटा पनि लाग्न सक्छ । निद्राको कमीले जहिले पनि वा सामान्य काम गर्दा मात्र पनि शरीर थाकेकोजस्तो महसुस भइरहन सक्छ । दिनभरिको काम गर्न तथा सधैँ सक्रिय हुनका लागि राम्रो निद्रा अति आवश्यक हुन्छ ।

कुनै पनि रोग तथा सङ्क्रमणबाट जोगिनका लागि बलियो प्रतिरक्षा प्रणाली हुनु धेरै महत्वपूर्ण हुन्छ । तर, निद्राको अभावले सिधै शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ । यस्तो अवस्थामा, सामान्य मौसमको परिवर्तनले पनि एक मानिसलाई चाँडै रोग लाग्न सक्छ । निद्राको अभाव भएका व्यक्तिमा चिसो, खोकी, ज्वरोजस्ता रोग सामान्य हुन्छन् र शरीरको प्रतिरक्षा प्रणाली रोगविरुद्ध लड्न सक्षम हुँदैन ।

पूर्ण निद्रा नपाउनेहरूको रगतमा चिनीको मात्रा पनि उच्च हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई मधुमेहको उच्च जोखिम रहन सक्छ । पर्याप्त निद्रा नपाएका कारण यसले सुन्दरतामा पनि नाकारात्मक असर पर्न जान्छ । खराब निद्राका कारण आँखामुनि कालो घेरा (डार्क सर्कल), पिम्पल्स आउनुका साथै सधैँ अनुहार निर्जीव र थकित देखिन्छ ।