Rumpum Advertisement

दीर्घ कोभिडले महिनावारी चक्रमा पनि असर पार्न सक्छ

दीर्घ कोभिडले महिनावारी चक्रमा पनि असर पार्न सक्छ

विराटनगर/धेरैका लागि कोभिड–१९ हल्का लक्षण भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ । ‘दीर्घ कोभिड’ भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा फरक प्रभाव पारिरहेको छ ।

दीर्घ कोभिड भएका व्यक्तिले फरकखाले अनुभव गर्न सक्दछन् । यस्ता व्यक्तिहरुमा सास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने, जोर्नी र मांशपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सँुघ्ने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मृगौला र पेटमा समस्याहरु देखा पर्दछ ।

सामान्यतया एक पटक सङ्क्रमण भइसकेपछि दुई हप्ताको अवधिमा स्वास्थ्य सुधारोन्मुख हुने गर्दछ । तर लामो समय लक्षण रहनुका कारणहरु अझै पनि खुल्न सकेको छैन । तथापि अनुसन्धानकर्ता र चिकित्सकहरुले दीर्घ कोभिडका कारण र उपचार पद्दतिका लागि सम्भावित उपायहरु खोजी गरिरहेका छन् ।

हालसालै मेडिकल न्युज टुडेले दीर्घ कोभिडले अन्य कुनै असरहरु पारिरहको छ कि भन्ने विषयमा जानकारी लिन केही महिलाहरुलाई सहभागी गराइएको थियो । सहभागी महिलाहरुले भनेअनुसार दीर्घ कोभिडले उनीहरुको महिनावारी चक्रमा धेरै ठूलो असर गरेको थियो जसका कारणले महिनावारी समयमा नहुने जस्ता समस्याहरु देखापरेको थियो ।

यसै सन्दर्भमा अमेरिकाको स्त्रीरोग र प्रजनन विज्ञानका सहायक प्राध्यापक र स्त्रीरोग विज्ञानको सेक्सन प्रमुख डा. लिन्डा र स्त्रीरोग विशेषज्ञ डा. बलिन्दा न्वाडिकेले अनुसन्धानको तथ्यअनुसार दीर्घ कोभिड भएका अधिकांश महिलाहरुले महिनावारी समयमा नहुने, असामान्यरुपमा रगत बग्ने र महिनावारी हुनुअघिका लक्षणहरुमा समेत प्रभाव पार्ने गरेको छ । त्यस्ता महिलाहरुमा एकै प्रकारको लक्षण नभई सबैमा फरक–फरक प्रकृतिका समस्याहरु हुन सक्छ ।

रोज नाम गरेकी एक महिलाले बताएअनुसार कोभड १९ को सङ्क्रमण भएकै समयवाट महिनावारीको लक्षणमा परिवर्तन आएको थियो । ‘जब म बिरामी भएँ (कोभिड १९ को कारण) मेरो महिनावारीको समय अचानक परिवर्तन भयो । सङ्क्रमण भएको दुई हप्तापछि मेरो म महिनावारी हुनुपर्ने थियो तर त्यसो भएन, अर्को महिना हुन्छ होला भन्ने लागेको थियो तर अर्को महिनामा पनि भएन, आठ महिनामा केवल पाँच पटक मात्र मेरो महिनावारी भएको छ,’ उनले भनिन् ।

त्यसैगरी ४० वर्षकी विन्काले भनेअनुसार उनी कोभिड १९ संक्रमण भइसकेपश्चात महिनावारी चक्रमा परिवर्तन आएको थियो ।

‘मैले सङ्क्रमणको सुरुवाती दिनमा त्यस्तो केही पनि फरक पाइनँ । तर तीन महिनापछि महिनावारी चक्रमा समस्या हुन थाल्यो । रगत कम आउने र महिनावारी अनियमित हुने क्रम बढ्दै जान थाल्यो,’ उनले भनिन् ।

स्रोत : मेडिकल न्युज टुडे