Rumpum Advertisement

गन्दर्भलाई बसोबासको व्यवस्था

Neuro
गन्दर्भलाई बसोबासको व्यवस्था

बाँके/बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ ।

नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माण भई गन्दर्भ समुदायलाई हस्तान्तरणसमेत भइसकेको छ ।

नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्दर्भ बस्तीलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा एक करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्दर्भहरुलाई उपलब्ध गराइएको छ ।

दोस्रो चरणअन्तर्गत ९० लाख ५९ हजार लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

सरकारले गन्दर्भ समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिँदा समस्या भएको गन्दर्भहरु बताउँछन् ।

पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्याङ्की एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरुको छ । तर पनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुसी देखिन्छन् । समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरु छन् ।

अहिले गन्दर्भ समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाइदिएको छ । गन्दर्भहरु भने सरकारले घर बनाइदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरुलाई घरको लालपूर्जासमेत उपलब्ध गराइदिए सहज हुने उनीहरुको भनाइ छ ।

बसोबासको समस्यामा रहेका स्थानीय गन्दर्भहरुले घर पाएपछि खुसी देखिन्छन् । यस्तै उनीहरुले स्थानीय तहबाट सीपमूलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागिसमेत सहज हुने बताउँछन् ।