Rumpum Advertisement

प्याब्सन केन्द्रीय अध्यक्षको विद्यालयमा फरक शैली

Neuro
प्याब्सन केन्द्रीय अध्यक्षको विद्यालयमा फरक शैली

विराटनगर/कोरोना महामारी त्रासका कारण बन्द भएका विराटनगरका शैक्षिक संस्था खुलेका छन् । महानगरको निर्णयपछि ६ चैतयता बन्द भएका विद्यालय बिहीबारबाट खुलेका हुन् ।

महानगरपालिकाले अनलाइन र भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालनको अनुमति दिएको छ ।

विराटनगरका निजी विद्यालयहरुले अनलाइन कक्षासँगै भौतिक कक्षा पनि सुरु गरेका छन् । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सञ्चालन गरेको एभरेस्ट सेकेन्डरी स्कुलले अनलाइन कक्षासँगै भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन सुरु गरेको छ ।

सिफ्ट मिलाएर कक्षा सञ्चालन सुरु गरेको प्रिन्सिपल पुरीले जानकारी दिए । ‘विद्यार्थीलाई सिफ्ट मिलाएर अध्यापन सुरु गरेका छौं ।’ उनले भने, ‘एउटा कक्षाका आधा विद्यार्थीले स्कुलमा भौतिक रुपमा उपस्थित हुन्छन् । आधाले अनलाइन कक्षामा पढ्छन् ।’ स्कुल आउने र अनलाइन कक्षा लिने विद्यार्थीको सिफ्ट बनाइएको उनले बताए ।

विद्यालयले आइसोलेसन सेन्टर र हेल्थ डेस्क राखेको छ । तीन बेडको आइसोलेसन कक्षा र दुई बेडको हेल्थ सेन्टर राखेको हो । नर्सिङ सेवासहित हेल्थ डेस्कमा राखिएको विद्यालयका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए ।

विद्यालय आउने विद्यार्थीका लागि गेटमा सेनिटाइज र तापक्रम नाप्ने र कक्षाकोठामा पनि भौतिक दुरीको व्यवस्था मिलाइएको उनले बताए । ‘साना कक्षाका विद्यार्थीले सेनिटाइजर प्रयोग गर्न जान्दैनन्, हामी आफैँ दिन्छौँ,’ उनले भने, ‘कक्षा कोठामा भौतिक दुरी कायम गरिएको छ ।’