Rumpum Advertisement

बद्री पङ्गेनीको समाज दर्साउने ‘…मान्छे चलेन’ (भिडियोसहित)

Neuro
बद्री पङ्गेनीको समाज दर्साउने ‘…मान्छे चलेन’ (भिडियोसहित)

विराटनगर/

सिलाएको लुगा चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन …

यो गीतले समाजको यर्थाथ दर्शाएको छ । बद्री पङ्गेनी र रचना रिमालको आवाजमा तयार पारिएको गीत टिकटकमा धेरै रुचाइएको छ । टिकटकमा देखेर युटुबमा कुन गीत होला ? भनेर नखोज्ने कमै होलान् । अझै पनि हाम्रो समाजमा जात अनि धर्मलाई लिएर विवाद हुने गरेको छ । छोराको खुसीका लागि जुनसुकै जातको केटी ल्याए पनि हुन्छ भन्नेहरु मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा देखाउने गरेका छन् । यो तीतोसत्य हो ।

बिपी फिल्म प्रालिले निर्माण गरेको गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका हुन् । गीतको भिडियोमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुबाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् ।

विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढकाउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्‍याउँछ । कानुन बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

गीतको म्युजिक भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ ।