Rumpum Advertisement

ब्राजिलमा ७० लाखभन्दा बढीलाई कोरोना सङ्क्रमण, एक लाख ८३ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा ७० लाखभन्दा बढीलाई कोरोना सङ्क्रमण, एक लाख ८३ हजारभन्दा बढीको मृत्यु

विराटनगर । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा हालसम्म ७० लाखभन्दा बढी मानिस प्रभावित बनेका छन् ।

ब्राजिल कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टाभित्र ६८ हजार चार सय ३७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७० लाख ४२ हजार छ सय ९५ पुगेको छ । हालसम्म कोरोनाका कारण एक लाख ८३ हजार आठ सय २२ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन नौ सय ६८ जनाले ज्यान गुमाए । सङ्क्रमितमध्ये ६१ लाख ३२ हजार छ सय ८३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । सात लाख २६ हजार एक सय ९० जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

नेपालको छिमेकी मुलुक भारतभन्दा ब्राजिलमा पछिल्लो समय सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारत कोरोनाका कारण प्रभावित हुने विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो । तर सङ्क्रमण र मृत्युको दर भारतभन्दा ब्राजिलमा धेरै छ । यसअघिसम्म ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा थियो ।

ब्राजिललाई उछिन्दै दोस्रो नम्बरमा पुगेको भारतमा केही समयदेखि सङ्क्रमण भने दर कम हुँदै गइरहेको छ । यहि अवस्थामा सङ्क्रमण फैलने हो भने भारतलाई जितेर ब्राजिल अगाडि आउने सम्भावना बढेर गएको छ ।

भारतमा हालसम्म ९९ लाख ५४ हजार सात सय ६९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन २१ हजार आठ सय ६१ जनामा सङ्क्रमण पुष्टि भयो । हालसम्म एक लाख ४४ हजार चार सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र तीन सय ५७ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये ९४ लाख ८१ हजार तीन सय ६० जना उपचारपछि निको भएका छन् । तीन लाख २८ हजार नौ सय २२ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एक करोड ७३ लाख ५८ हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन दुई लाख २३ हजार तीन सय ३१ जनामा कोरोना पुष्टि भयो । मृत्यु हुनेको संख्या तीन लाख १४ हजार तीन सय १९ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टाभित्र तीन हजार दुई सय २८ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड एक लाख ४२ हजार चार सय पाँच जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य दैनिकीमा फर्किएका छन् । वाल्डो मिटरका अनुसार ६९ लाख दुई हजार ६६ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये २८ हजार तीन सय २८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा हालसम्म सङ्क्रमितको सङ्ख्या सात करोड ४४ लाख ७९ हजार छ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र छ लाख ७९ हजार छ सय ९८ जना नयाँ सङ्क्रमित थपिए । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बिहीबार बिहानसम्ममा १६ लाख ५४ हजार चार पुगेको छ । एकै दिन १३ हजार एक सय एक जना सङ्क्रमितले ज्यान गुमाए ।

विश्वमा कोरोना पुष्टि भएकामध्ये पाँच करोड २३ लाख १२ हजार नौ सय ८२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना जित्न सफल भएर सामान्य अवस्थामा फर्किएका छन् । दुई करोड पाँच लाख १२ हजार सात सय १२ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख सात हजार दुई सय ४१ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।