विराटनगर/विराट मेडिकल कलेजले पहिलो पटक कुमको आर्थोस्कोपी पद्दतिमार्फत सफल शल्यक्रिया गरेको छ ।
वरिष्ठ ट्रमा, स्पोर्ट्स एवम् जोइन्ट रिप्लेसमेन्ट सर्जन विभूतिनाथ मिश्रसहितको टोलीले अर्थाेस्कोपी विधिबाट सफल शल्यक्रिया गरेको हो ।
महँगो मानिने यो शल्यक्रिया स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गरेको हो । कुमको आर्थाेस्कोपी शल्यक्रिया स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत नेपालमै पहिलो पटक भएको अस्पताल प्रशासनको दाबि छ ।
विराट मेडिकल कलेजमा रहेको उच्च प्रविधियुक्त शल्यक्रिया कक्षमा कुममा सानो प्वाल बनाएर क्यामेरासहितको औजारको प्रयोग गर्दै शल्यक्रिया गरिएको अस्पताल प्रशासनले बताएकाे छ ।
वरिष्ठ सर्जन मिश्रका अनुसार ‘एसी जोइन्ट आर्थिटिस’ले हुने कुमको दुखाइको उपचारका लागि ‘सोल्जर आर्थाेस्कोपी एण्ड सबक्रोमियल डिकम्प्रेशन’ शल्यक्रिया गरिएको हो ।
‘जोर्नीको समस्याका कारण कुम चल्न नसक्ने अवस्थामा पुगेपछि आएका ४२ वर्षीय पुरुषको एमआरआई गरेर हेर्दा आर्थिटिसको विकास भएको देखियो,’ वरिष्ठ सर्जन मिश्रले भने, ‘त्यसैले आजको सर्जरीमा धेरै भएका आर्थिटिसलाई हामीले सफा गर्यौँ, हड्डीलाई तासेर मिलायौँ ।’
शल्यक्रियाको केही दिनपछि दुखाइविना नै कुम सहज तरिकाले चल्न थाल्ने सर्जन मिश्रको दाबि छ ।
विराट मेडिकल कलेजले नै १७ दिनअघि घुँडाको अर्थाेस्कोपी र लिगामेन्ट रिकन्सट्रक्सन सर्जरी गरेको थियो ।
कुमको शल्यक्रिया भएसँगै विराट मेडिकल कलेजमा सबैखाले आर्थोस्कोपी सेवा उपलब्ध गराउने अस्पतालले जनाएकाे छ ।
वरिष्ठ सर्जन मिश्र भन्छन्, ‘घुँडा र कुमको सफल शल्यक्रिया भएसँगै हामी सबैखाले आर्थाेस्कोपी सेवाका लागि तयार छौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत शल्यक्रिया गरिने भएकाले अब गरिब र अशक्तहरुले पनि यो सेवा विराट मेडिकलबाट सजिलै लिन सक्नेछन् ।’